नयाँ दिल्ली (एजेन्सी)- बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको चर्चित कार्यक्रम 'कौन बनेगा करोडपति' (केबिसी) को सोमबार अन्तिम एपिसोड प्रसारण हुनेछ । नौ सिजनसम्म आइपुग्दा दर्शकको मनमा बसेको कार्यक्रम बन्द हुन लाग्दा यसका प्रशंसकसँगै सञ्चालक अमिताभ पनि दुःखी छन्।
सिजन ९ को अन्तिम एपिसोड आउनु अगाडि अमिताभले ट्विट गर्दै कार्यक्रमसँग जोडिएका सबैसँग टाढा हुनुपर्ने प्रसंग उल्लेख गर्दै यसलाई दुःखद भनेका छन्।
प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) को एक खबरका अनुसार, केबिसीको सिजन-९ समापन हुने अवसरमा अमिताभले भनेका छन्, 'केबिसीसँग जोडिएका ४ सय ५० जनाको टिमले मिहिनेतपूर्वक काम नगरेको भए शो कहिल्यै यति सानदार हुने थिएन।'
अमिताभले सन् २००० मा सुरु भएको यस शो प्रति माया दिने दर्शकलाई पनि धन्यवाद दिएका छन् । '१७ वर्षअघि यस शो ले इतिहास रचेको थियो र तपाईंले फेरि पनि यस्तो इतिहास रच्न सहयोग गर्नुभयो । यो कुनै सानो काम थिएन।'
कौन बनेगा करोडपति पहिलो एपिसोडपछि नै टीआरपी चार्टमा अग्रस्थानमा रहँदै आएको छ । कार्यक्रम मार्फत अमिताभको जिन्दगीसँग जोडिएका कतिपय रोचक किस्सा समेत बाहिर आउने गरेका छन् ।
केबिसी बन्द भएपछि कुन शो आउँछ ?
'कौन बनेगा करोडपति' बन्द भएपछि सोनी टिभीमा नयाँ दुई शो सुरु हुनेछन् । भारतीय समय अनुसार नौ बजे 'रिश्ता लिखेंगे हम नयाँ' आउनेछ, जुन 'पहरेदार पिया की' सिरियलको सिक्वल हुने बताइएको छ ।
यस्तै, साढे नौ बजे फिल्म अभिनेता जायद खानको डेब्यु टिभी शो 'हासिल' प्रसारण हुनेछ । जायद रणवीर रायचन्दको चरित्रमा देखिने यो शो को पहिलो एपिसोड अक्टोबर ३० देखि प्रसारण हुनेछ । केबिसीको अन्तिम एपिसोडको दिन अक्टोबर २३ देखि नै हरर रोमान्स शो 'एक दीवाना था' राति १० बजेदेखि प्रसारण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।