मुस्ताङ- प्रदेश सभा र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनका लागि मुस्ताङमा आठ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीले उम्मेदवारी दर्ता गराएका हुन्।
प्रतिनिधि सभामा कांग्रेसका रोमी गौचन थकाली र एमालेका प्रेमप्रसाद तुलाचनको उम्मेदवारी दर्ता भएको छ । यस्तै, लोमान्थाङ र दालोमे गाउँपालिका समावेश भएको प्रदेश सभा क्षेत्र नम्बर १ मा एमालेका इन्द्रधारा विष्ट र कांग्रेसका मिङगुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश सभा क्षेत्र नम्बर २ मा एमालेका महेन्द्र थकाली, कांग्रेसका छिरिङ धावा गुरुङ, राप्रपाका नरबहादुर हीराचन र राप्रपा प्रजातान्त्रिकका प्रवीण शेरचनले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा २३ वटा मतदान केन्द्र छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।