बार्सिलोना– स्पेनिस महारथी क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले स्पेनिस ला लिगामा दर्जनौ रेकर्ड बनाइसकेका छन्। प्रत्येक वर्ष रेकर्ड बनाउने मेसीले सन् २०१९ मा पनि विभिन्न रेकर्ड बनाउन सक्नेछन्। विशेषगरी मेसी यो वर्ष ६ रेकर्ड बनाउनबाट नजिक छन्। उनले अपेक्षाअनुरुप खेले १२ महिनामा ६ रेकर्ड बन्ने छ।
सर्वाधिक उपाधि
मेसीले यो वर्ष व्यक्तिगत रुपमा सर्वाधिक उपाधि जित्ने रेकर्ड बनाउन सक्नेछन्। हाल ३३ उपाधि उचालेका मेसी बढी उपाधि जित्ने रेकर्ड बराबरी गर्न ३ उपाधिबाट टाढा छन्। अहिलेसम्म बढी उपाधि जित्ने रेकर्ड म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रायन गिग्सको नाममा छ। उनले ३६ उपाधि उचालेका थिए। ला लिगा र कोपा डेल रे लगातार जितिरहेका मेसीले सन् २०१५ पछि च्याम्पियन्स लिगको उपाधि उचाल्ने अवसर पाएका छैनन्। च्याम्पियन्स लिग पनि जिते मेसीले रेकर्ड बनाउन सक्नेछन्।
इनिस्टालाई पछि पार्दै
मेसी बार्सिलोनाका लागि बढी खेल खेल्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन्। अहिलेसम्म मेसीले बार्सिलोनाको जर्सीमा ६ सय ५७ खेल खेलिसकेका छन्। यो वर्ष १८ खेल खेले मेसीले बार्सिलोनाका लागि बढी खेल्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका आन्द्रेस इनिस्टालाई पछि पार्नेछन्। इनिस्टाले बार्सिलोनाका लागि ६ सय ७४ खेल खेलेका थिए। बार्सिलोनाका लागि बढी खेल्ने खेलाडी भने जाभी हर्नान्डेज हुन्। जाभीले ७ सय ६७ खेल खेलेका थिए।
कासिलासको रेकर्ड भंग गर्ने
ला लिगामा सबैभन्दा बढी जित हात पार्ने खेलाडी रियल म्याड्रिडका पूर्व कप्तान इकार कासिलास हुन्। उनले ला लिगमा ३ सय ३४ खेलमा जित हात पारेका थिए। मेसीले अहिलेसम्म ३ सय २३ खेलमा जित हात पारेका छन्। उनले अब ११ खेलमा जित हात पारे कासिलासको रेकर्डसम्म बराबरी गर्नेछन्।
छैटौं गोल्डन बुट
मेसीले गत वर्ष लगातार तेस्रो तथा समग्रमा पाँचौ पटक युरोपियन गोल्डन बुटको अवार्ड हात पारेका थिए। पाँचौ पटक गोल्डेन बुट हात पार्दै उनले क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका थिए। सन् २०१९ मा पनि मेसीले युरोपिय फुटबल लिग मध्येमा सर्वाधिक गोल गरे छैटौं पटक गोल्डेन बुट जितेर इतिहास बनाउनेछन्।
ला लिगामा ४ सय गोल
मेसीले यो वर्ष ला लिगामा ४ सय गोल गरेर रेकर्ड बनाउन सक्नेछन्। मेसीले अहिलेसम्म ३ सय ९७ गोल गरिसकेका छन्।
५०औं ह्याट्रिक
बार्सिलोनाका कप्तान मेसीले करिअरमा ४९ ह्याट्रिक गरिसकेका छन्। यो वर्ष उनले ५०औं ह्याट्रिकको कोशेढुंगा पार गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।