काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भिम रावलले सरकार भारतीय कम्पनी ‘जिएमआर’सँग अनावश्यक रुपमा झुक्दै आएको भन्दै आलोचना गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले १० वर्षसम्म पनि भारतीय कम्पनीले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण नगरेको भन्दै अब म्याद नथप्न चेतावनी दिए।
‘हामी आफ्नो देशको विकास गर्न अझै कति समय झुक्ने हो?’, उनको प्रश्न थियो, ‘यसरी लम्पसार परेर देशको हित हुन्छ?’
माथिल्लो कर्णाली आयोजना ‘जिएमआर’ले नबनाउने भनेर १२ बुँदे पत्र विगतमै आफूले बुझाएको भन्दै रावलले अहिले पनि सोही अवस्था रहेको दाबी गरे।
‘जिएमआर’ले सम्झौताअनुसार गर्दैन भनेर सुशील कोइरालाको समयमै आफूले ज्ञापनपत्र बुझाएको भन्दै रावलले ‘२०६४ माघ र २०७० बैसाख ३ गते अर्को सहमति किन भयो र फेरि किन म्याद थप गर्ने प्रयास हुँदैछ?’ भन्दै प्रश्न गरे।
‘२०७१ साल अघि नै लगानी विकास बोर्डले सम्झौता गरेको र २४ महिनाभित्र वित्तीय व्यवस्थापन हुनुपर्ने, तर आजसम्म उक्त कार्य किन भएन?’, रावलको प्रश्न थियो।
४८ महिना १५ दिन भइसकेको अवस्थामा ‘जिएमआर’ले अन्य कम्पनीलाई बिक्री गर्ने प्रयास गरेको कुरा सार्वजनिक भएकाले त्यसको जानकारीसमेत गराउन उनले माग गरे। ‘के कारणले यस्तो अवस्था आएको हो?’, उनले भने, ‘१० वर्षसम्म यो किन कार्यान्वयन भएन, फेरी किन उसैको लागि म्याद थप हुँदै छ?’
उनले राष्ट्रित हितका लागि नझुक्न आग्रहसमेत गरे। पञ्चेश्वर बहुउद्देश्य आयोजनाको विस्तृत परियोजना प्रतिवेदन किन बनेन?, २३ वर्षसम्म महाकाली सम्झौता किन पुनरावलोकन भएन? भन्ने प्रश्नका जवाफ सदनमा गराउनुपर्ने उनले माग राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।