काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागी हुन २ सय ५ खेलाडीले नाम दर्ता गराउका छन्।
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी माघ अन्तिम सातादेखि धनगढीको फाप्ला मैदान हुने प्रतियोगिताका लागि पुस पहिलो साता खेलाडी दर्ताको आवेदन खुलाइएको थियो।
दर्ता भएका खेलाडीको बोलकबोल (अक्सन) आगामी शनिबार काठमाडौंमा हुनेछ। प्रत्येक टिमले कम्तिमा १२ जना खेलाडी अक्सनबाट लिनु पर्नेछ। अक्सनका लागि खेलाडीको मूल्य न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँसम्म तोकिएको छ।
डिपिएलका प्रत्येक टिमले १ ट्यालेन्ट हन्टबाट र २ विदेशी गरि १५ जना खेलाडीलाई टिममा अनुबन्ध गर्नुपर्नेछ।
डिपिएल माघ २६ गतेदेखि फागुन ११ गतेसम्म हुँदैछ। डिपिएलमा टिम चौराहा धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डन्स, विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स गरि ६ टिमले भाग लिनेछन्।
प्रतियोगितामा १९ खेल हुनेछन्। लिग चरणमा प्रत्येक टिमले एकअर्कासँग एक–एक खेल खेल्ने छन्। शीर्ष ४ टिम प्ले–अफमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।