काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिग २०७५ को विजेता बनिसकेको मनाङ मर्स्याङ्दी क्लबले लगातार १२औं खेलमा जित हात पारेको छ। ११औं खेलमा संकटा क्लबलाई हराएर २ खेल अघि नै लिग च्याम्पियन बनेको मनाङले बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले हराएको हो।
जितसँगै सबै खेल जितेर लिग जित्ने रेकर्ड बनाउन मनाङ एक जित टाढा छ। अन्तिम चरणको खेलमा फ्रेण्ड्स क्लबलाई पराजित गरे मनाङले सबै खेल जितेर लिग जित्ने रेकर्ड बनाउनेछ।
बुधबार सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको खेलमा दुवै टिम १०–१० खेलाडीमा सीमित बनेका थिए।
खेलको ३६ मिनेटमा मनाङले अग्रता लियो। अफिज ओलावालेको क्रसले गोलपोस्टको दिशा लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा शेर्पाले बराबरी गोल फर्काउन सफल भयो। शेर्पाका विश्वास श्रेष्ठले ४५ मिनेटमा बराबरी गोल गरेका हुन्।
६४ मिनेटमा मनाङले खेलमा अग्रता लिन सफल भयो। दीपक राईको पासमा विशाल राईले गोल गरेका थिए।
७० मिनेटमा दुवै टिम १०–१० खेलाडीमा सीमित बने। मनाङका डिफेन्डर मोहमद आसिफलाई रेफ्रीले हिमालयन शेर्पाका विश्वास श्रेष्ठमाथि आक्रमक व्यवहार देखाएको भन्दै रातो कार्ड देखाउँदै मैदान पठाए। विश्वास पनि रातो कार्डको सिकार बने। उनलाई पनि रेफ्रीले झगडामा उत्रिएको भन्दै रातो कार्ड देखाएका थिए।
जितसँगै शीर्ष स्थानको मनाङले १२ खेलबाट ३६ अंक जोडेको छ। शेर्पा १२ खेलबाट १७ अंक जोड्दै सातौं स्थानमा छ।
यससँगै लिगको १२औं चरणको खेल सकिएको छ। एन्फाले अन्तिम चरणको खेल बिहीबार प्रकासित गर्ने जनाएको छ।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।