काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा संकटा क्लबले दोस्रो स्थान हात पारेको छ। बुधबार भएको खेलमा तेस्रो स्थानको थ्रीस्टार क्लबलाई २–१ गोलले हराउँदै दोस्रो स्थान पक्का गरेको हो।
यता हारपछि थ्रीस्टारको दोस्रो स्थान हात पार्ने लक्ष्य अन्त्य भएको छ। थ्रीस्टारलाई तेस्रो बन्न पनि अन्तिम खेलमा जित हात पार्नु पर्ने भएको छ।
बुधबार एन्फा कम्प्लेक्स मैदान भएको खेलमा थ्रीस्टारले पहिले अग्रता लिएको थियो। थ्रीस्टारका लागि रञ्जन विष्टले गोल गरेका थिए। पहिलो हाफ सकिन २ मिनेट बाँकी छदा संकटाले बराबरी गोल फर्कायो। संकटाका लागि ४३ मिनेटमा अमित तामाङले गोल गरेका थिए।
६४ मिनेटमा संकटाले खेलमा अग्रता लिन सफल भयो। उसका लागि अमित तामाङले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए।
जितसँगै अन्तिम खेल खेल्न बाँकी छदा दोस्रो स्थानको संकटाले २८ अंक जोडेको छ। तेस्रो स्थानको थ्रीस्टार २३ अंक मात्र छ। चौथो स्थानको त्रिभुवन आर्मी क्लबको २२ अंक छ।
मनाङले लगातार ११ खेल जित्दै २ खेल अघि नै लिग जितिसकेको छ।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।