राजविराज– तीन पटकसम्म असफल भई चौथो पटक शिलान्यास गरिएको ‘राजविराज बसपार्क’ निर्माणको काम पुनः अवरुद्ध भएको छ।
निजी जग्गा हडपेको भन्दै स्थानीय केही व्यक्तिले राजविराज नगरपालिकाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएपछि निर्माण कार्य प्रभावित भएको हो।
रीता दास, घनश्याम दास, रामकुमार दास र ललितादेवी दासले संयुक्त रुपमा नगरपालिका विरुद्ध मुद्दा दर्ता गराएका थिए।
सोही मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासले गत कात्तिक २६ गते नगरपालिकाका नाममा निशेधाज्ञा जारी गरेको छ।
‘अदालतको आदेशपछि मुख्य काम रोकियो,’ सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख रमेश थिङले भने,‘साना–तिना काम भइरहेका छन्, समग्रमा काम प्रभावित छ।’
शुभनारायण दास, विष्णुप्रसाद सिंह र सुरुतीकुमारीले पनि बसपार्क निर्माणका क्रममा आफूहरूको जग्गा हडपेको भन्दै नगरपालिकाविरुद्ध मुद्दा दर्ता गराएका छन्। एकपछि अर्को मुद्दा पर्न थालेपछि काम गर्ने वातावरण नभएको थिङले बताए।
‘एकै पटक ५ वटा मुद्दा खेप्दैछाैं,’ उनले थपे,‘निवेदकले माग दाबी नगरेको भागमा काम हुँदै थियो, अपहेलना मुद्दा दर्ता भएपछि त्यो पनि रोकियो।’
२०४४ साल माघमा पहिलो पटक राष्ट्रिय उद्यानसहितको बसपार्क निर्माणका क्रममा नगरपालिकाले व्यक्तिसँग पनि जग्गा सट्टापट्टा गरेको र तिनै व्यक्तिले अहिले पुरानो जग्गामा दाबी गर्न थालेपछि समस्या बढेको थिङले बताए।
‘नगरपालिकाले दिएको जग्गा पनि उनीहरु नै भोगचलन गरिरहेका छन्, नगरपालिकालाई दिएको जग्गामा पनि दाबी छोडेका छैनन्,’ उनले भने,‘कागजी रुपमा नगरपालिका कमजोर हुँदा समस्या आयो।’
बसपार्क निर्माणका लागि वडा नं. २ मा ४ बिघा १४ कठ्ठा जग्गामध्ये २०३६ सालपछि मात्रै राजविराज नगरपालिकाको स्वामित्वमा आएको हो। ४/५ वर्षअघिसम्म पनि जग्गाको स्वामित्वको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलेको थियो।

पुराना जमिन्दारहरूले आफन्त र कामदारका नाममा जग्गा राख्ने चलनअनुसार काम गर्ने मानिसको नाममा राखिएको जग्गा जबरजस्ती कब्जा गरिएको भन्दै २०५१/५२ मा सर्वोच्चमा मुद्दा परेको थियो।
तर, २०६९/७० सालमा सर्वोच्चले मुद्दा खारेज गरेपछि जग्गाको स्वामित्व नगरपालिकामा आएको हो।
एक पूर्व जनप्रतिनिधिका अनुसार २०२४/२५ सालसम्म तत्कालीन राजविराज–१ निवासी अमरसिंह चौधरीको नाममा रहेको साढे ३ बिघा जग्गा जिम्दारी (पोत) नबुझाएका कारण लिलाम भएको थियो।
मलेठ निवासी मोहन मण्डलले लिलाम सकारे पनि सो अनुसारको रकम नबुझाउँदा लिलाम खारेज भयो। स्वतः सरकारी स्वामित्वमा गएको सोही जग्गा यतिबेला बसपार्कका लागि तयार गरिएको हो।
सहरी विकास मन्त्रालयको १७ करोड लागतमा निर्माण हुन लागेको बसपार्कको मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले २०७४ माघ २६ गते संयुक्त रुपमा शिलान्यास गरेका थिए।

२०७७ पुस १८ भित्र सम्पन्न गर्ने गरी काठमाडौंको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालिले निर्माणको ठेक्का लिएको छ।
बसपार्कमा सेड, घन्टाघर, भित्री सडक, सर्भिस सेन्टर, शौचालय, टर्मिनल भवन तथा वाउन्ड्रिवालसमेत गरी भ्याट बाहेक १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँ लागतको योजना छ।
पटक–पटक शिलान्यास हुने तर काम पूरा नहुने समस्या खेप्दै आएको बसपार्क निर्माणको काम फेरि रोकिएपछि स्थानीयवासी चिन्तित छन्।
२०४४ साल माघमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वली र २०५२ साल असारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बसपार्कको शिलान्यास गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।