काठमाडौं- सरकारलाई वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई उद्यमी बनाउन र आन्तरिक श्रम बजारमा रोजगारीका अवसर सिर्जना गर्न युवा बैंक खोल्न सरोकारवालाले सुझाव दिएका छन्।
राजधानीमा मंगलबार आयोजित मलेसिया रिटर्नी समाजको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्ने अधिकांश वक्ताले वैदेशिक रोजगारीबाट सिप सिकेर फर्किएका युवालाई व्यवस्थापन गर्न युवा बैंकको आवश्यकता रहेको बताएका हुन्।
सरकारले वैदेशिक रोजगारीबाट सिप लिएर फर्किएकालाई युवा बैंक खोलेर लगानी गर्नुपर्ने राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले बताएका छन्। यो विषयमा परिषद्ले सरकारसँग पहल गरिरहेको उनले भने बताए।
'सरकारले वैदेशिक रोजगारीमा सिकेको सिप देशभित्र सदुपयोग गर्ने अवसर निर्माण गर्नुपर्छ। अब श्रम विदेशमा होइन, नेपालमै गर्न राज्यले प्रेरित गर्नैपर्छ,’ उनले भने। वैदेशिक रोजगारीमा जाने क्रम सरकारले रोक्न सकेन भने देशभित्र युवा खडेरी लाग्ने उनको भनाई थियो।
सरकारले देशभित्रै उद्यमी र रोजगारीका अवसर निर्माणका लागि विदेशबाट फकिएका युवा १० लाख कर्जा ऋण उपलब्ध गराएको वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताएका छन्। 'सरकारले पैसा बाँढ्ने भ्रमका पछि नदौडिनु होला। उद्यमी बन्न सहुलियत मात्र दिएको हो,' उनले भने।
मलेसिया रिटर्नी समाजका अध्यक्ष सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उपेक्षा गर्दा पुनः उनीहरु रोजगारीको खोजीमा विदेशिन बाध्य रहेको बताए। यो विषयमा सरकारले गम्भीर भएर काम गर्नुपर्ने उनको भनाई छ।
समाजको प्रथम सम्मेलनमा मलेसिया गएर फर्किएका ३ सयभन्दा बढी युवा भेला भएका थिए। समाजले नयाँ कार्यसमिति चयन गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।