काठमाडौँ- नेपाली कांग्रेसका नेता गगन थापाले संस्थापक नेता बिपी कोइरालालाई आआफ्नो स्वार्थ अनुसार बुझ्ने र व्याख्या गर्ने काम भएको टिप्पणी गरेका छन्।
४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेसले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा थापाले यस्तो टिप्पणी गरेका हुन्।
‘हामीले बेला–बेला भन्छौं, कांग्रेसले बिपीको बाटो छाड्यो,’ थापाले भने, ‘बिपीले यस्तो भन्नुभएको थियो, भनेर हामीले मनलाग्दी तरिकाले आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्यौं। यस्तो तरिकाले हामी हामी कहीँ पनि पुग्दैनौं।’
तत्कालीन समयमा ‘मेरो राजासँग घाटी जोडिएको छ’ भन्ने बिपीको भनाइलाई पनि अपव्याख्या गरिएको उनको भनाइ छ। ‘बिपीले तत्कालीन समयमा भनेको कुरालाई जोडेर केही साथीले राजाको निरुङ्कुशता विरुद्ध पनि लड्न चाहनु भएन्,’ उनको भनाइ छ, ‘तर, हामीले नारा लगायौं ‘निरुङ्कुश राजा चाँहिदैन’। बिपीले यस्तो भन्नु भएको थियो भन्ने रटान लगाएको भए आज हामी गणतन्त्रमा हुने थिएनौं।’
बिपी चिन्तकसमेत भएको भन्दै उनले अहिले पनि बिपीका धेरै कुरा सान्दर्भिक रहेको बताए। ‘बिपी कोइराला एउटा चिन्तक हुनुहुन्थ्यो,’ थापाले भने, ‘बिपी कोइरालाले त्यो बेला बोलेको कुराले अहिले पनि प्रभाव पारिरहेका छन्। त्यसैले आम नेता भन्दा उहाँ महान् हुनुहुन्थ्यो। त्यसैले त अहिले पनि हामी उहाँलाई सम्झिरहेका छौं।’
उनले गिरिजाप्रसाद कोइरालाले हिंसामा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको र एकपटक असफल भइसकेको संविधानसभालाई सफल बनाएर सुशील कोइरालाले संविधान ल्याएको बताए।
बिपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उनले संविधान कार्यान्वयन गर्ने कुरामा पनि मेलमिलापको नीति सान्दर्भिक हुने बताए।
कांग्रेसले सोमबार देशैभर विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाइ रहेको छ। राजा महेन्द्रले २०१७ सालमा कोइरालासहित काँग्रेसका नेताहरूलाई पक्राउ गरी जेल चलान गरी एकदलीय पञ्चायती व्यवस्था सूत्रपात गरेका थिए।
जेलजीवनपछि बिपीसहितका नेताहरू २०२५ सालमा भारत प्रवासमा गएका थिए।
४३ वर्षअघि पुस १६ गते राजनीतिक संकटबाट देशलाई जोगाउने उद्देश्यले बिपीसहितका नेताहरू राष्ट्रिय मेलमिलाप र एकताको नीति लिएर स्वदेश फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।