मस्को– सिरियामा तैनाथ अमेरिकी सैनिक फिर्ता भएपछि रुस र टर्कीले सहकार्य गर्ने बारेमा शनिबार सहमति भएको मस्कोस्थित एक उच्च कुटनीतिज्ञले बताएका छन्।
‘अमेरिकी सैनिक फिर्ता भएपछिको नयाँ परिस्थितिका बारेमा हामीले विशेष रुपमा छलफल गरेका छौं,’ रुसी विदेशमन्त्री सर्गेई लाभरोभले टर्कीका समकक्षी मेभ्लट काभुसोग्लुसँग मस्कोमा भेटवार्ता भएपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै भने।
‘रुस र टर्कीका सैनिक प्रतिनिधिहरुबीच स्थलगत रुपमा गर्नुपर्ने समन्वयका बारेमा एक किसिमको सहमति भएको छ। सिरियाबाट सबै किसिमका आतङ्कवादी खतराहरु निमिट्यान्न पार्न दुबै मुलुकबीच समझदारी पनि भएको छ,’ लाभरोभले बताए।
टर्कीका विदेशमन्त्री काभुसोग्लुले पनि दुबै मुलुकले सिरियाका मामिलामा सहमति जनाएको पुष्टि गरे। उनले सिरियाली शरणार्थीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउने बारेमा पनि छलफल भएको जानकारी दिए।
‘हामी रसिया र इरानसँग मिलेर सिरियामा राजनीतिक स्थायित्व ल्याउन तत्पर छौं’, उनले भने।
लाभरोभ र काभुसोग्लुका अलावा वार्तामा रुस र टर्कीका रक्षामन्त्रीहरु क्रमशः सर्गेई शोइगु र हुलुसी अकार पनि सहभागी थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता सिरियामा तैनाथ दुई हजार अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा गरेका थिए। उनले चरमपन्थी इस्लामिक स्टेट समूह परास्त भएकाले अमेरिकी सैनिक फिर्ता गर्नुपरेको जनाएका थिए।
चरमपन्थी इस्लामिक स्टेटले खाडी क्षेत्रको अधिकांश भूभागमा आफ्नो नियन्त्रण गुमाइसकेको छ। तैपनि, हजारौं जिहादीहरु अझै पनि युद्धग्रस्त मुलुक सिरियामा रहेको विश्वास गरिन्छ।
शुक्रबार, रसियाले नयाँ वर्षको सुरुमै सिरिया द्वन्द्वका बारेमा टर्की र इरान सम्मिलित तीन देशीय शिखर सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।