प्रतीकात्मक तस्बिर
जनकपुर- धनुषामा एक महिलाले आफ्ना दुई कलिला छोरालाई विष खुवाएर आफूले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन्।
घरायसी विवादमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल बस्ने रवीन्द्र यादवकी २४ वर्षीया रीनादेवी यादवले छोराहरुलाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन्।
विष सेवनबाट कान्छो छोरा ३ वर्षीय रितेशको मृत्यु भएको छ भने जेठो छोरा ५ वर्षीय रितिकसहित उनी पनि सिकिस्त अवस्थामा छिन्।
रीनालाई जनकपुरको जानकी हेल्थ केयरको आइसियूमा भर्ना गरिएको छ भने जेठो रितिकलाई जनकपुर अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।
कान्छो छोरा रितेशको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।
स्थानीयका अनुुसार सोमबार राति घरमा सासूसँग घरायसी विवाद भएपछि मंगलबार बिहान रीना दुई छोरालाई लिएर घरबाट हिँडेकी थिइन। पछि घरपरिवार र स्थानीयले खोजी गर्दा उनीहरु विष सेवन गरेको अवस्थामा मंगलबार दिउँसो करिब ३ बजे जनकपुरको कभर्डहल नजिक फेला परेका थिए। स्थानीयले उनीहरुलाई तत्काल अस्पताल पुर्याएका थिए।
अलिअलि होसमा रहेको जेठो छोरा रितिकले आमाले विष आफै खाएर भाइ र आफूलाई समेत खुवाएको बताएका थिए। अस्पताल ल्याउँदे गर्दा रितेशको बाटोमै मृत्यु भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।