काठमाडौं– प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसहित पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको राजनीतिक कटाक्षमाथि जेनजी अभियन्ता मिराज ढुंगानाले कडा टिप्पणी गरेका छन्।
ढुंगानाले सामाजिक सञ्जालमार्फत बालेन शाहलाई ‘फेसबुके राजा’ भन्दै आलोचना गरेका छन्। खुलामञ्चमा कुच्चो लगाएको प्रसंग उल्लेख गर्दै उनले त्यसैलाई आधार बनाएर बालेनले खुलामञ्च नै आफूले बनाएको जस्तो ठानेको टिप्पणी गरेका हुन्।
त्यस्तै, कांग्रेसका नेता सचिन तिमिल्सिनाप्रति पनि कटाक्ष गर्दै उनले एक नेतालाई ‘कांग्रेसको हनुमान’ को संज्ञा दिएका छन्। लोकतन्त्रको ‘कपीराइट’ आफूसँगै रहेको जस्तो व्यवहार गर्ने गरेको भन्दै उनले आलोचना गरेका छन्।
ढुंगानाले जेनजी आन्दोलनसँग जोडिएकी रक्षा बमप्रति पनि व्यङ्ग्य गर्दै सिंहदरबार जलाउन गएको घटनालाई देशलाई निकास दिएको भ्रमका रूपमा चित्रण गरेका छन्। सामाजिक सञ्जालमा बालेनले स्टाटस लेखेपछि त्यसको जवाफ दिन तयार हुने प्रवृत्तिलाई उनले ‘फेसबुके रानी’ को संज्ञा दिएका छन्।
उनले यस्ता गतिविधिलाई ‘प्रतिक्रियावादको पराकाष्ठा’ भन्दै समाज र अन्तर्विरोध बुझाइ कमजोर रहेको टिप्पणी गरेका छन्।
‘समाजको बुझाइ शून्य, अन्तर्विरोधको बुझाइ शून्य, खाली विरोधका लागि विरोध,’ उनले लेखेका छन्।
यस्ता व्यक्तिहरूबाट देशले निकास पाउन नसक्ने दाबी गर्दै ढुंगानाले अब ‘तेस्रो ध्रुव’ आवश्यक रहेको बताएका छन्।
उनका अनुसार देश र समाज बुझेका राजनीतिक व्यक्तिहरू एक ठाउँमा आएर नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।