काठमाडौं– राज्य व्यवस्थाकाे तीनै तहमा कर्मचारीको दरबन्दी टुंगो लागेको छ।
‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ अनुसार सरकारका तिनै तह संघ, प्रदेश र स्थानीय तहमा काम गर्ने कर्मचारीको संख्या निश्चित भएकाे हाे।
नयाँ व्यवस्थाअनुसार अब संघमा ४७ हजार ९ सर २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी कायम गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका सहसचिव केदार प्रसाद पनेरुले जानकारी दिए।
यहि संरचना र दरबन्दीकाे आधारमा अब कर्मचारी समायाेजन प्रक्रिया अघि बढ्नेछ। सहसचिव पनेरुका अनुसार अबकाे २१ दिनभित्रमा कर्मचारी समायाेजनकाे कार्य पुरा हुनेछ।
स्थानीय निकायमा स्थायी कर्मचारीहरुको समायोजन गर्ने कार्य भने प्राय: सम्पन्न भइसकेको पनि उनले बताए। राष्ट्रिय किताबखानाबाट कर्मचारीकाे विवरण अद्यावधिक गर्नेे कार्य पनि चलिरहेकाे मन्त्रालयले जनाएकाे छ।
समायाेजनकाे सूचना प्रकाशित हुनासाथ सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय र सेवा सञ्चालन हुने हरेक कार्यालयहरुमा हेल्प डेस्ककाे स्थापना हुनेछ।
मन्त्रालयले अध्यादेशप्रति असन्तुष्टि राख्दै आएका आधिकारीक ट्रेड युनियनसँग संवाद तथा छलफल गरी गुनासा सम्बाेधन तथा नीतिगत अस्पष्टता भए त्यसलाई निराकरण गर्न कर्मचारी समायाेजन गुनासाे व्यवस्थापन समिति गठन गरेकाे छ। समितिले पहिलाे चरणकाे प्रतिवेदन पेस गरिसकेकाे र निरन्तर संवाद तथा छलफलका माध्यमबाट बाँकी सुझावहरुलाई समेत मनन् गर्दै अगाडि बढिने पनेरुले बताए।
कर्मचारीहरुकाे सेवा सुरक्षा, सुविधा र वृत्तिविकासका हकमा तहगत रुपमा कुनै पनि विभेद नगरिने पनि मन्त्रालयले स्पष्ट पारेकाे छ।
आज मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिइएकाे हाे।
मन्त्रालयले जारी गरेकाे प्रेस नाेट:


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।