काठमाडौं– थाइल्यान्डको चाङमइमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जन स्वदेश फर्किएका छन्।
मंगलबार स्वदेश फर्किएका महर्जनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो। उनलाई स्वगत गर्न राष्ट्रिय खेलकुद परिषद्का उपध्यक्ष पिताम्बर तिमल्सिना, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठसहित पदाधिकारी र सयौं समर्थक विमानस्थल पुगेका थिए।
स्वदेश फर्किएपछि उनले नेपालका लागि स्वर्ण जित्ने सपना पूरा भएको बताएका छन्।
स्वर्ण जितेपनि राज्यको तर्फबाट उनलाई कुनै पुरस्कारको घोषणा गरिएको छैन। यद्पयी नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्रेष्ठले ३ लाख नगद पुरस्कारबाट सम्मान गर्ने बताएका छन्। थाइ नेपाल संघले उनलाई बैंककमा एक कार्यक्रम गर्दै नगद एक लाख रुपैयाँसहित सम्मान गरेको थियो।

२ साता अघि महेश्वरले पुरुष ७५ केजीमा स्वर्ण जितेका थिए। नेपालले विश्व च्याम्पियनसिपमा स्वर्ण जितेको यो पहिलो पटको हो। अन्तिम प्रतिस्पर्धामा महेश्वरले भारत र सिंगापुरका खेलाडीलाई पछि पारे। भारत दोश्रो र सिंगापुर तेश्रो भएका थिए। गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन्।
महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो। महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए। यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औँ संस्करणमा च्याम्पियन र १४औँ तथा १५औँ संस्करणमा दोस्रो भएका थिए।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।