काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति आवश्यक भए पनि हतारमा निर्णय लिन नहुने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत सांसद न्यौपानेले भविष्यमा पछुताउनुपर्ने अवस्था नआउने गरी योग्य, सक्षम र निष्पक्ष व्यक्तिलाई मात्र सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नुपर्नेमा जोड दिएका छन्।
‘जस्तोसुकै संकट वा आश्वासन आए पनि नझुक्ने र नचुक्ने, लोभलालचबाट टाढा रहेका भगवानरूपी न्यायमूर्ति नियुक्त गर्नुपर्छ,’ उनले भनेका छन्।
उनले नियुक्त हुने न्यायाधीशको स्वार्थ, कार्यक्षमता, निष्ठा, योग्यता र क्षमतामाथि प्रश्न उठ्ने अवस्था हुन नहुने बताएका छन्। साथै, न्यायाधीश नियुक्तिमा लैङ्गिक तथा समुदायगत प्रतिनिधित्वको समेत झल्को देखिनुपर्ने उनको भनाइ छ।
न्यायाधीश नियुक्तिमा उच्च अदालतबाट करिब ५० देखि ६० प्रतिशत र बाहिरबाट ४० देखि ५० प्रतिशत नियुक्ति गर्ने व्यवस्था उपयुक्त हुने धारणा न्यौपानेले अघि सारेका छन्।
‘न्यायाधीश नियुक्ति कुनै राजनीतिक दलको प्रभाव, भागबन्डा वा दलीय कोटाको आधारमा हुनुहुँदैन। न्यायको अन्तिम आशाको बिन्दुमा फैसलाधिस होइन न्यायाधीश नियुक्ति हुनुपर्दछ,’ उनले भनेका छन्।
सर्वोच्च अदालतमा फैसला गर्ने मात्र नभई न्यायको मर्म, संविधान र विधिको शासनप्रति पूर्ण प्रतिबद्ध न्यायाधीश आवश्यक रहेको बताएका छन्। न्यायाधीश नियुक्तिमा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर विवेकपूर्ण निर्णय लिनुपर्नेमा उनले जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।