काठमाडौं– नेपाल र युएईबीच एकदिवसीय र टी–२० सिरिजका कारण धनगढी प्रिमियर लिग (डिपिएल) प्रभावित भएको छ।
नेपाल र युएईबीच आगामी जनावरीअन्तिम सातादेखि फ्रेब्रुअरी पहिलो सातासम्म एकदिवसीय र टी–२० सिरिज हुने तय भएको छ। यहि समयमा डिपिएल हुने तय भएको थियो। सिरिजका कारण डिपिएलको मिति सारिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जनाएका छन्।
यसअघि डिपिएल माघ १९ देखि फागुन ४ गतेसम्म हुने भनिएको थियो। अब डिपिएल माघ २६ गतेदेखि फागुन ११ गतेसम्म गरिने आयोजकले जनाएको छ। यस्तै डिपिएलका लागि अघिल्लो साता खेलाडी दर्ताका लागि खुलाइएको फर्म भर्ने समय थप १ साताका लागि बढाइएको छ। फर्म भर्ने अन्तिम म्याद पुस १७ सम्मका तोकिएको छ। यस्तै पुस १२ गते गर्ने भनिएको अक्सन पुस १९ का लागि सारिएको छ।
डिपिएलमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डन्स, विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्ससमेत ६ टिमले भाग लिन लागेका छन्। प्रतियोगिता धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।