पाँचथर- पाँचथरको फिदिम नगरपालिका–१० कि वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेपछि सेवाग्राही हर्षित भएका छन्।
निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धताअनुसार उनले सामाजिक सुरक्षा भत्ता आफू निर्वाचित भएको फिदिम नगरपालिका–१० को घरघरमा पुगेर वितरण गरेकी हुन्।
गाउँघरमै भत्ता वितरण गर्न थालिएपछि ज्येष्ठ नागरिकहरु खुसी छन्।
फिदिम नगरपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने नीति लिएको छ। ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरूलाई सदरमुकाम फिदिम आउँदा जाँदा सवारी भाडा नै रु ८०० लाग्ने भएकाले सो नीति अवलम्बन गरिएको हो।
सो वडामा ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका गरी २९० जनाले सामाजिक सुरक्षा पाउँदै आएको वडा कार्यालयले जनाएको छ।
चालू आर्थिक वर्ष २०७४/७५ मा सो वडामा सामाजिक सुरक्षा भत्ताका लागि रु १७ लाख बजेट विनियोजन गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।