काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगको १० चरणका खेल आइतबार सकिएका छन्।
दशौं चरणको अन्तिम खेलमा शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लब नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भयो। दशौं चरणसम्म उपाधि होडमा रहेका २ क्लब संकटा क्लब र थ्रीस्टार क्लब बराबरीमा रोकिदा मनाङलाई फाइदा पुगेको थियो। संकटालाई ब्रिगेड ब्वाइज क्लब र थ्रीस्टारलाई च्यासल युथ क्लबले बराबरीमा रोकेका थिए।
लिगको अंक तालिकामा मनाङले आफूलाई अब्बल साबित गर्ने क्रममा १० खेलमा १० नै खेल जित्दै ३० अंक जोडेको छ। दोस्रो स्थानको संकटाको २५ अंक छ भने २३ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा छ। यता दशौं चरणमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग २–१ ले पराजित भएको आर्मी भने औपचारिक रुपमा उपाधि होडबाट बाहिरिएको छ।
अब लिगको उपाधि होडमा मनाङ, संकटा र थ्रीस्टार मात्र बाँकी छन्। ५ अंकको अग्रता लिएको मनाङ बलियो देखिएको छ। बाँकी रहेका ३ मध्ये २ खेलमा जित हात पारे मनाङ च्याम्पियन बन्ने पक्का छ। संकटाका लागि भने मनाङले ३ मध्ये २ खेलमा हार बेहोर्नु पर्नेछ भने आफूले ३ खेलमै जित हात पार्नु पर्नेछ। थ्रीस्टारका लागि पनि आफूलै ३ खेलमा जित निकाल्दा मनाङले ३ खेलमा अंक गुमाउनु पर्ने हुन्छ।

यता अखिल नेपाल फुटबल संघ (एन्फा)ले ११औं र १२औं चरणको खेल तालिका प्रकाशन गरेको छ। ११ औं चरणमा उपाधि होडमा रहेका संकटा र मनाङबीच पुस १२ गते खेल हुनेछ। यो खेलमा जित हात पारे मनाङ २ खेल अघि नै लिग च्याम्पियन हुनेछ। संकटा विजयी भएमा भने लिग उपाधिको होड रोमाञ्चक बन्नेछ। यद्पयी संकटाले १३ औं चरणमा थ्रीस्टारसँग खेल्नेछ। यो खेल संकटाका लागि कठिन हुने देखिन्छ।
मनाङले १३औं चरणमा हिमालयन शेर्पा क्लबसँग खेल्नेछ। अन्तिम खेलमा मनाङले फ्रेण्ड्स क्लबसँग खेल्नेछ। मनाङका लागि पछिल्ला २ खेलको तुलनामा ११ औं चरणको संकटाविरुद्धको खेल महत्वपूर्ण छ। जुन खेलले मनाङलाई २ खेल अघि नै लिग च्याम्पियन बनाउन सक्नेछ।
११औं र १२औं चरणको खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।