काठमाडौं। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।
कोशी, मधेश र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका हिमाली र पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बदली भए पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।
यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग र कर्णाली प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा भने आंशिक बदली रहनेछ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।
त्यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।