काठमाडौं– मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि नजिक पुगेको छ।
मनाङले लिगमा लगातार दशौं जित निकाल्ने क्रममा नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्यो। एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा मनाङको जितमा एडेलाजा सोमिडेले निर्णायक गोल गरे। उनले खेलको ५२ मिनेटमा डिबक्स बाहिरबाट प्राप्त पासलाई चिप गर्दै गोल पोस्टको दिशा दिएका थिए। लगत्तै उनले गोल गर्न गरेको अर्को प्रयासमा पुलिसका गोलकिपर अर्पण कार्कीले उत्कृष्ट बचाउ गरे।
खेलको ६० मिनेटमा पुलिसका अजित भण्डारीको हेडरलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले विफल पारिदिए। ८२ मिनेटमा पुलिसका खेलाडीले सिक्सयार्ड भित्रबाट हानेको प्रहार पोलमा लागेर फर्किएको थियो।
त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
योसँगै दशौं चरणको खेल सकिएका छन्। अब ३ चरणका खेलपछि लिग समाप्त हुनेछ।
जितसँगै शीर्ष स्थानको पुलिसले १० खेलबाट ३० अंक जोडेको छ। दोस्रो स्थानको संकटाको १० खेलबाट २५ अंक छ। २३ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा छ। यता १८ अंक जोडेर चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब भने उपाधि होडबाट बाहिरिएको छ। आर्मीलाई आइतबार भएको खेलमा एपिएफ क्लबले २–१ ले हराएको थियो।
५ अंकको अग्रता लिएको मनाङले अब संकटा क्लबलाई पराजित गरे लिग च्याम्पियन हुनेछ। संकटालाई हराए मनाङले बाँकी रहेका २ खेलमा पराजय भोगे पनि उपाधि जित्नेछ।
मनाङले उपाधि नजित्ने अवस्था भनेको संकटाले मनाङलाई हराउनु पर्नेछ। बाँकी २ खेलमा मध्ये एक खेलमा मनाङले अंक गुमाएदा संकटाले दुवै खेल जित्नु पर्नेछ।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।