एजेन्सी– युरोपियन च्याम्पियन रियल म्याड्रिडले लगातार तेस्रो पटक क्लब विश्वकपको उपाधि जितेको छ। समग्रमा चौथो र लगातार तेस्रो पटक उपाधि जित्ने रेकर्ड बनाउने क्रममा रियलले युएइको क्लब अल एइनलाई ४–१ गोलले हरायो।
रियलका लागि लुका मोड्रिकले खेलको १४ मिनेटमा पहिलो गोल गरे। पहिलो हाफमा १ गोल गरेको रियलले दोस्रो हाफमा थप ३ गोल गर्यो। लोरान्टोले ६० मिनेटमा दोस्रो गोल गर्दा कप्तान सर्जियो रामोसले ७८ मिनेटमा तेस्रो गोल गरे।
अल एइनका सोइटानीले ८६ मिनेटमा गोल गरेर खेललाई ३–१ को अवस्थामा ल्याएका थिए। यद्यपी एइनका मोउस्ताफाले दोस्रो हाफको इन्जुरी टाइममा आफ्नै पोस्टमा गोल गर्दा रियलले ४–१ को जित पक्का गर्यो।

यसअघि सेमिफाइनलमा रियलले कसिमा एन्टर्सलाई हराउदै फाइनलमा स्थान पक्का गरेको थियो। सो खेलमा रियलका गारेथ बेलले ह्याट्रिक गरेका थिए।
एइनले भने रिभर प्लेटलाई पेनाल्टीमा पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो।
रियलका मिडफिल्डर टोनी क्रुसले पछिल्ला ६ क्लब विश्वकप मध्ये ५ प्रतियोगिताको उपाधि उचालेर रेकर्ड बनाएका छन्। सन् २०१३ मा उनले जर्मन क्लब वायर्न म्युनिखबाट क्लब विश्वकप जितेका थिए। यस्तै रियलबाट २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।