काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा नेतृत्व नभए जस्तो देखिएको भन्दै आफू नेतृत्व लिन तयार रहेको बताएका छन्।
भाइटीका लगाएपछि शनिबार पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्वराजा शाहले आफू मुलुकको जिम्मेवारी लिन तयार रहेको तर त्यसका लागि सबै जनताको इच्छा हुनुपर्ने बताए।
उनले भने, 'नेतृत्व नभए जस्तो देखिएको छ । त्यसैले अब समय आए जस्तो लाग्छ मलाई । जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु । तर, सबै जनताको इच्छा हुनुपर्छ।'
जिम्मेवार नागरिकको हैसियतले आफूलाई देशको अवस्थाबारे चिन्ता र चासो हुनु स्वाभाविक भएको भन्दै पूर्वराजाले प्रतीकात्मक रुपमा राजनीतिक दलहरु निष्प्रभावी बनेको टिप्पणी गरे।
'अहिले परिस्थिति कस्तो छ भने, दूबो, गोदावरी र मखमली फूलको मालाको महत्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने', उनले भने, 'यो परिस्थितिमा हामी हिँडिराखे जस्तो लाग्छ।'
जिम्मेवारी लिने कुरा गर्दा पूर्वराजा फेरि सक्रिय भयो भन्ने कुरा आउनेमा उनी सजग देखिए। उनले भने, ' फेरि सक्रियो भयो भन्ने कुरा निस्केला । यो सक्रिय हुने कुरा होइन, देशको परिस्थितिले मागेको समय मलाई आएको जस्तो लाग्छ।'
पूर्वराजाले यसका लागि सबैको चाहना हुनुपर्नेमा जोड दिएका थिए।
हेर्नुहोस् भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।