गोदावरी– नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले रकम अभावका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसक्ने भन्दै प्रदेश तहमा ‘स्मार्ट सिटी’को अवधारणाबारे जानकारी दिने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा बजेट कम भएको जनाएका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसकिने भएकाले प्रदेश तहमा गएर कार्यक्रम गर्न लागिएको नास्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए।
‘सबै स्थानीय तहमा गई त्यहाँका पदाधिकारीलाई ‘स्मार्ट सिटी’बारे जानकारी दिन चाहेका थियौँ, तर रकम अभावका कारण जान सकिएन’, ढकालले भने, ‘यदि कुनै स्थानीय तहका पदाधिकारीले हामीलाई बोलाए हामी जान तयार छौँ।’
एक वर्ष पहिले गण्डकी प्रदेशमा यस्तो कार्यक्रम गरिएकामा दोस्रो चरणमा यही पुस ७ गते प्रदेश १ को झापामा यसलाई निरन्तरता दिइने उनले जानकारी दिए।
दक्षिण कोरियाबाट आएका प्राविधिक नाइपा एडमाइजरले नास्टसँगको सहयोगमा अमेरिकालगायत अन्य विकसित शहरमा कसरी ‘स्मार्ट सिटी’ निर्माण भएको छ भन्ने जानकारी गराउँदै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।