बेनी,म्याग्दी – उचित वासस्थान र उपयुक्त वातावरण अभावका कारण दुर्लभ मानिने चिरकालिज नेपालबाट लोप हुने अवस्थामा पुगेको छ।
त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र बिषयमा स्नातकोत्तर गरिरहनुभएका केशव चोखालले एक वर्ष लगाएर म्याग्दीका विभिन्न ठाउँमा गरेको अध्ययन र अनुसंन्धानबाट यहाँ ५० देखि ६० वटासम्म मात्र चिरकालिज देखिएको हो।
उनले चिरकालिजको अवस्था, वासस्थान, संख्या र लोप हुनुका कारणबारे म्याग्दीमा लामो अनुसन्धान गरेका थिए। ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पंक्षीलाई अंग्रेजीमा चिरफेजेन, नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु नामले चिन्ने गरिन्छ । नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाहरुको सहयोगमा चोखालले अनुसन्धान गरेका हुन्।
साइटिस घोषणापत्र र आइयुसियन अन्तर्राष्टि«य संस्थाको ‘आइ’ सुचिमा राखिएको यो पंक्षीलाई नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पंक्षीको सूचिमा सुचिकृत गरिएको छ।
नेपालमा यो पंक्षी समुद्री सतहबाट १४ सय मिटरदेखि ३६ सय मिटरसम्मको भूभागमा पाइने अनुसन्धानकर्ता चोखालले बताए। कालीगण्डकीको पश्चिम क्षेत्रमा पाइने र नेपालमा करिव एक हजारको संख्यामा रहेको यो पंक्षी म्याग्दीमा मात्रै ५० देखि ६० वटा रहेको अनुसन्धानकर्ता चोखालले बताए।
यो विश्वमा नेपाल, भारत र पाकिस्तानमा मात्रै पाइने चरा भएको उनले जानकारी दिए। झट्ट हेर्दा कालिजको पोथी जस्तै देखिए पनि कालिज र यसमा धेरै भिन्नता रहेको अनुसन्धानकर्ता चोखालले बताए। उनका अनुसार यो पंक्षीको भालेको पुच्छर लामो हुन्छ, आँखामा रातो रङ हुन्छ , शरीरमा सेतो थोप्लामा कालो बुट्टा रहेको हुन्छ । आकारमा पोथी, भाले भन्दा सानो हुन्छ र पोथीको पुच्छर छोंटो हुन्छ।
यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै अण्डा पार्ने र वच्चा कोरल्ने गरेको तथ्य पत्ता लागेको चोखालले बताए। विहान सुर्योदय हुनुभन्दा अगाडीे र साँझमा सुर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने चिरकालिजको मुख्य विशेषता हो।
चोखालका अनुसार यो पंक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जंगल नभएको खुल्ला भिर, खरवारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ । यसले भिरमा नै वच्चा कोरल्ने र हुर्काउने गर्छ । एक पटकमा ७ देखि १५ वटासम्म अण्डा पार्ने चिरकालिज अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन आरक्ष र रारा राष्ट्रिय निकुन्जमा रहेको विभिन्न अनुसन्धानबाट खुल्न आएको चोखालले जानकारी दिए। संरक्षित क्षेत्रभन्दा वाहिर विशेषगरी म्याग्दी, वागलुङ र मध्य तथा सुदूर पश्चिम क्षेत्रमा पनि यो पंक्षी पाइने गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।
म्याग्दी जिल्लामा यो पंक्षी कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाको तटीय क्षेत्रहरुमा पाइएको चोखालले बताउनुभयो । अवैध चोरी शिकारी, आगालागी, वासस्थानको ह्रास र जनचेतनाको अभावका कारण यो पंक्षी लोपोन्मुख अवस्थामा पुगेको चोखालको भनाइ छ।
“समुदायबीच सचेतना कार्यक्रम, चोरी शिकारी नियन्त्रण तथा वासस्थानको उचित व्यवस्थापन र संरक्षण गर्ने हो भने यो पंक्षीको संरक्षण गर्न सकिन्छ,” उनले भने।
पर्यापर्यटनको विकास, जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तु संरक्षणका लागि पनि चिर कालीजको संरक्षण गर्नु आवश्यक रहेको उनको भनाई छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।