काठमाडौं- पञ्चायतकालीन प्रधानमन्त्री डा तुलसी गिरीको निधन भएको छ।
नेता गिरीको मंगलबार बिहान आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ। गिरीको ९३ वर्षको उमेरमा निधन भएको हो।
उनी कलेजोको क्यान्सरबाट पीडित थिए।
पहिले कांग्रेस नेता रहेका गिरी बिपी कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए। तर, महेन्द्रको पञ्चायती शासनलाई साथ दिएका थिए। कोइराला नेतृत्वको सरकारमा रहँदै उनी दरबारसँग नजिकिएको कुरा बिपीको आत्मकथामा उल्लेख छ।
पञ्चायती शासनको सुरूवातमै उनी मन्त्री बनेका थिए। ०१७ पुस १ मा पञ्चायती शासन सुरू भई १३ गते गठन भएको मन्त्रिपरिषद्मा गिरीले परराष्ट्र तथा राजदरबार सम्बन्धी मन्त्रालय सम्हालेका थिए।
उनी २०३२ मंसिरमा गठन भएको मन्त्रिपरिषद्मा प्रधानमन्त्री भएका थिए। त्यसअघि ०१९ चैत र ०२० फागुनमा मन्त्रिपरिषद् अध्यक्ष भएका गिरी त्यस अतिरिक्त पटक-पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए।
पञ्चायती शासन ढलेपछि लामो समयसम्म श्रीलंकामा बसेका गिरी तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेलामा नेपाल फर्किएका थिए। ०६१ पछि ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्मा उनी उपाध्यक्ष भएका थिए।
प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त
गिरीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन्।
'पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ। यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु', प्रधानमन्त्रीले ट्विट गरेका छन्।
पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) December 18, 2018
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।