सन् २००९ देखि प्रयोगमा आएको बिटकोइन कसले बनायो भन्नेबारे जिज्ञासा र कौतुहलता सबैमा थियो। सन् २०१६ को मे २ मा अस्ट्रेलियन नागरिक क्रेइग राइटले आफू बिटकोइनको आविस्कारक भएको दाबी गरेका छन्।
सातोसी नाकामोटो छद्म नामले परिचित रहेका राइट आफू बिटकोइनको आविस्कारक भएको भनी प्रविधिक प्रमाणसहित प्रस्तुत भए। उनले आफ्नो सिस्टम लगइन गरी आफूलाई प्रमाणित गरेका हुन्।
के हो बिटकोइन?
बिटकोइन 'भर्चुअल' पैसा हो। यसलाई 'क्यास'को अनलाइन 'भर्सन'का रुपमा मानिँदै आएको छ। बिटकोइन केही सामान किनबेचका लागि प्रयोग हुँदै आएको छ तर केही पसलमा मात्रै यसको प्रयोग गरिन्छ। हामीले फोटोमा देख्ने बिटकोइन बिम्ब मात्रै हो। यी सिक्काभित्र 'प्राइभेट कोड' हुन्छ र ती कोडबिना कुनै बिटकोइन प्रयोगमा आउँदैन।
बिटकोइन प्रयोग तरिका
हरेक बिटकोइन एक कम्प्युटर फाइल हो, जुन एउटा स्मार्टफोन वा कम्प्युटरमा राखिएको 'डिजिटल वालेट'मा जम्मा गरिएको हुन्छ। जो कसैले पनि आफ्नो डिजिटल वालेटबाट बिटकोइन अरुलाई पठाउन र अरुबाट पाउन सक्छन्।
बिटकोइनको हरेक कारोबार 'ब्लकचेन' भनिने पब्लिक लिस्टमा देखिन्छ। त्यसैले बिटकोइनको प्रयोगबारे जानकारी प्राप्त गर्न सकिन्छ तर आफूसँग नरहेको बिटकोइन खर्च गर्न कसैले पनि सक्तैन। अहिले विश्वभर करिब १५ करोड बिटकोइन प्रयोगमा छन्।
बिटकोइन पाउनका लागि कुनै पनि प्रयोगकर्तासँग 'बिटकोइन एड्रेस' हुनुपर्छ। २७ देखि ३४ अक्षर र नम्बर भएको उक्त एड्रेसले भर्चुअल पोस्ट बक्सका रुपमा काम गर्छ, जहाँबाट बिटकोइन पठाउन र पाउन मिल्छ।
यी 'एड्रेस' भने दर्ता भएको हुँदैन, त्यसैले सबैको परिचय गुप्त हुन्छ र कुनै-कुनै ठाउँमा बिटकोइनको स्टोरेज राखिएको हुन्छ।
बिटकोइन कसरी पाइन्छ?
बिटकोइन मूलतः ३ तरिकाले पाउन सकिन्छ
१. पैसा तिरेर बिटकोइन किन्न सकिन्छ। सन् २०१४ मा एउटा बिटकोइनको मूल्य ५ सय पाउन्ड पर्थ्यो भने अहिले यसको मूल्य ३ सय ६ पाउन्ड छ।
२. आफूसँग रहेको कुनै उत्पादन बेचेर र क्रेतालाई बिटकोइन मार्फत भुक्तानी गर्न आग्रह गरेर।
३. अथवा तपाईंले कम्प्युटरबाट बिटकोइन बनाउन पनि सक्नुहुन्छ।
नयाँ बिटकोइन कसरी बनाइन्छ?
बिटकोइन सिस्टम चलाइराख्नका लागि कम्प्युटरलाई सबैको कारोबारको सहज हुने बनाइएको हुन्छ। ती कम्प्युटरमा निकै जटिल किसिमका हिसाब गर्ने गरिन्छ र कम्प्युटर राख्नेलाई समय–समयमा बिटकोइन पनि दिने गरिन्छ।
मानिसले केही शक्तिशाली कम्प्युटर बिटकोइन पाउनका लागि र बिटकोइन बनाउनका लागि राख्छन्, यसलाई 'माइनिङ' भनिन्छ। बिटकोइन बनाउने क्रम निकै तीव्र भइरहेकाले यो रोक्नका लागि असम्भव प्रायः छ। अहिलेबाट कसैले माइनिङ थाल्यो भने बिटकोइन पाउनका लागि निकै मिहिनेत गर्नुपर्ने हुन्छ भने समय पनि उत्तिकै लाग्छ।
अझ तपाईंले बिटकोइन पाउनका लागि प्रयास थाल्नुभयो भने पनि तपाईंको बिजुलीको बिल एउटा बिटकोइनको मूल्यभन्दा धेरै आउनेछ।
बिटकोइन किन मूल्यवान् छ?
बिटकोइनप्रतिको मान्छेको इच्छा र चाहनाका कारण यसको महत्व र मूल्य बढ्दै गएको छ।
मानिसले सेवा–सुविधा, उत्पादन र पैसाको बदलामा बिटकोइन रोज्ने भएकाले पनि यसको महत्व झन् बढ्दै गएको छ।
बिटकोइन मोह
केही मानिस बिटकोइन कुनै सरकार वा बैंकहरुको नियन्त्रणमा नरहने विश्वास गर्छन्, अर्थात् अहिलेसम्म बिटकोइन प्रयोगकर्ताले कुनै बैंकलाई वा सरकारलाई कर तिर्नुपर्दैन।
मानिसले आफ्नो बिटकोइन इच्छा अनुसार खर्च गर्न पाउँछन्। कारोबारबारे सबै रेकर्ड सार्वजनिक हुने भए पनि कसले खर्च गर्यो भन्ने थाहा हुँदैन। आफ्नो खाता नम्बर यो हो भनेर कसैलाई नभनेसम्म सबैको खाताबारे जानकारी गुप्त रहन्छ।
के यो सुरक्षित छ?
सबै कारोबार सार्वजनिक हुने र खातासँग सम्बन्धितको विवरण गुप्त राखिने भएकाले पनि बिटकोइनको नक्कलीप्रति बनाउनका लागि र अरुको बिटकोइन चलाउन पाइँदैन। त्यसैले यसलाई सुरक्षित भएको दाबी गरिन्छ।
तर, बिटकोइन वालेट हराउन वा डिलिट गर्न भने सम्भव छ, त्यसैले यो तपाईंले सधैंका लागि गुमाउन सक्ने सम्भावना बढी हुन्छ।
बिटकोइनको मूल्य सधैं स्थिर भने भइरहँदैन, त्यसैले आफूसँग भएको सबै पैसा बिटकोइनमा खर्च गर्नु मुर्खता पनि हुन सक्छ।
बिटकोइन प्रयोगमा रोक लगाइएका केही देश
१. बंगलादेश
२. बोलिभिया
३. चीन
४. इक्वेडर
५. आइसल्यान्ड
६. भारत
७. रसिया
८. स्विडेन
९. थाइल्यान्ड
१०. भियतनाम
–सिसिएन डट एलए
बिटकोइन प्रयोग स्वीकार हुने केही देश
१. अमेरिका
२. क्यानेडा
३. अस्ट्रेलिया
४. फिन्ल्याण्ड
५. बेल्जियम
६. साइप्रस
७. बेलायत
८. बुल्गेरिया
९. जर्मनी
–इन्भेस्टोपेडिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।