काठमाडौं- आज डिसम्बर १८ अर्थात् १८औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १ का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो। सन् १९९० मा महासन्धि पारित भएपनि आप्रवासी दिवस भने सन् २००० बाट मनाउन सुरु गरिएको हो। नेपालले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छ।
विश्वव्यापीकरणसँगै यातायात र सञ्चार प्रविधिले फड्को मारेपछि श्रम तथा रोजगारी बजार साँघुरिदै गएको छ। जसले गर्दा मानिसहरू एक ठाँउबाट अर्को ठाउँमा पुग्ने गरेका छन्। पछिल्लो समय रोजगारी तथा व्यापारका लागि फरक देश जाने प्रवृत्ति पनि बढ्दै गएको छ।
एक देशबाट अर्को देशमा घुमफिर गर्ने, रोजगारीको खोजीमा स्थानान्तरण हुने, अध्ययनको लागि अर्को देशमा जाने, शरणार्थी हुने, बसाई सर्ने जस्ता कार्यहरु आप्रवासनका आयामहरु हुन्। नेपालबाट पनि वार्षिक रुपमा करिब १० लाख नेपाली विभिन्न देश पुग्ने गरेको बताइँदै आएको छ।
विश्वमा २ अर्ब ४४ करोड आप्रवासीमध्ये १ अर्ब ५० लाख श्रमका लागि एक देशदेखि अर्को देश पुग्ने गरेका छन्। महिलाको संख्या ४४ प्रतिशत छ।
संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनअनुसार दक्षिण एसियाली क्षेत्रबाट मात्र २ करोड ५० लाख आप्रवासी श्रमिक खाडीलगायतका विभिन्न मुलुक पुग्ने गरेका छन्। विश्वमा वार्षिक २२ करोडभन्दा धेरै कामदार आप्रवासी बन्ने गरेको आइएलओको विभिन्न अध्ययनमा उल्लेख छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले गरेको एक अध्ययनअनुसार विश्वमा २५ करोडभन्दा बढी मानिस विभिन्न कारणले आफ्नो घर छाडी अन्य देशमा पुग्ने गरेका छन्। त्यसमध्ये २२ करोडभन्दा बढी मानिस कामको खोजीमा विदेशिने गरेका छन्।
सुरक्षित वैदेशिक रोजगारीका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस बर्ष पनि विविध सचेतनामूलक कार्यक्रमका साथ आप्रवासन दिवस मनाउने तयारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।
नेपालमा सरकार, गैरसरकारी संघ संस्था, ट्रेड युनियन, निजी क्षेत्र समेतको संयुक्त समन्वयमा यो दिवस मनाउँदै आएको छ।
नेपालको आप्रवासन इतिहास
सन् १२६० देखि नै नेपालीहरु विदेश जाने गरेका थिए। करिब ७ सय ५९ वर्षअघि अरनिको नेतृत्वमा ८० जना मूर्तिकार चीनको तिब्बतमा गएका थिए। यसपछि नेपालीहरु विश्वका विभिन्न देश पुग्ने क्रम सुरु भएको मान्यता छ।
सुरुवातमा नेपालीहरु आसाम, सिक्किम, भूटान, म्यान्मार र तिब्बत लगायतका देशमा पुग्ने गर्थे। कृषि, पशुपालन, चियाखेती, खानी, कारखाना लगायतका क्षेत्रमा काम गर्न नेपालीहरु एक स्थानबाट अर्को स्थानमा जाने गरेका थिए।
सन् १८०९ मा तत्कालीन भारतीय राज्य पञ्जावको लाहोर (हाल पाकिस्तान)मा त्यहाँका राजा रणजीत सिंहको सेनामा भर्ती भएदेखि लाहुर जाने क्रम सुरु भएको थियो। नेपाल-ब्रिटिस युद्ध (सन् १८१४-१६) पछि सुगौली सन्धी भयो। यसपछि ब्रिटिस सेनामा पनि नेपाली युवा भर्ती सुरु गरिएको थियो। यो क्रम हालसम्म पनि चलिरहेको छ।
वि.स. २०४६ सालदेखि रोजगारीका खोजीमा नेपाली युवा विश्वका करिब १ सय ७२ राष्ट्रमा पुग्ने अनौपचारिक तथ्यांक छ। हाल वार्षिक साढे ५ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तंथ्याकमा उल्लेख छ। खुला सिमाना भएका कारण नेपालीहरू भारत हुँदै बंगलादेश, चीन, श्रीलंका र म्यानम्मरसम्म पुग्ने गरेका छन्। श्रम स्वीकृति लिएर जाने कामदारलाई मात्र आप्रवासीका रुपमा सरकारले सूचीकृत गर्दै आएको छ।
४० लाख युवा विदेशमा
सरकारी तथ्यांकअनुसार नेपालमा रोजगारीको अवसर नपाएर वार्षिक करिब समढे ५ लाख विदेसिने गरेका छन्। आव ०६३/६४ देखि आव ०७५/७६ सम्ममा करिब ४० लाख युवा विदेशएिका छन्। तीमध्ये ७ लाख महिला छन्। नेपाली अर्थतन्त्रको कुल गार्हथ्य उत्पादनमा विप्रेषणको योगदान ३२ प्रतिशत देखिन्छ। आप्रवासनले देशको आर्थिक, सामाजिक र सांस्कृतिक संरचनामा परिवर्तन ल्याएको बताउने गरिएको छ।
नेपालमा वार्षिक ५ लाखभन्दा बढी श्रमशक्ति आन्तरिक श्रमबजारमा प्रवेश गर्ने गरेका छन्। जसमा १ लाखले मात्र जसोतसो आन्तरिक श्रम बजारमा रोजगारको अवसर पाउछन् भने त्यो भन्दा बाहेकका वैदेशिक रोजगारीमा जाने गरेका छन्।
दैनिक करिब १ हजार २ सय जना कामको खोजीमा श्रम स्वीकृति लिएर विदेशिन्छन्। देशका करिब ५६ प्रतिशत घरधुरीका व्यक्ति वैदेशिक रोजगारीमा छन्। वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने सम्बन्धमा थुप्रै चुनौती थपिँदै गएका छन्।
आप्रवासनका चुनौती
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ। पछिल्लो समय रोजगारीको प्रलोभनमा पारी मानव तस्कर र श्रमिक बेचबिखनको क्रम पनि उतिकै बढेको छ। विदेशमा जोखिमयुक्त कामका कारण औसत रूपमा दैनिक ३ जनाको शव नेपाल आउने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले उल्लेख गर्छ।
यसले घरपरिवारका सदस्यमा त्रास पनि उत्तिकै छ। विकराल चुनौतीहरूलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका निकायहरूको सहयोगमा नेपालमा दर्जनभन्दा बढी संघ-संस्था क्रियाशील छन्।
पछिल्लो समय आप्रवासनका कारण देशभित्र काम गर्न युवामा प्रोत्साहन पुगेको छैन। आन्तरिक श्रम बजार विदेशी कामदार भरमा चल्न थालेको छ।
आप्रवासनबाट शरणार्थी
विश्वव्यापीकरणका कारण आप्रवासी कामदार शरणार्थी बन्ने क्रम पनि उतिकै बढेको छ। आप्रवासनमा गएका कामदार शरणार्थी बन्न थालेपछि विकशित देशले यसलाई रोक्न विकल्प खोजी थालिएको छ।
आप्रवसनमा गएका कामदार शरणार्थी भएर बस्ने क्रम बढेपछि आप्रवासी कामदारमाथि धेरै देशले रोक लगाउन सुरु गरेका छन्। पछिल्लो समय अफ्रिकाका देशमा चलिरहेको द्वन्द्वका कारण युरोपमा शरणार्थी बढ्न थालेपछि यो विषयमा युरोपेली देश विकल्पको खोजी गर्न थालेका हुन्। अध्ययनका लागि जापान, क्यानडा, अमेरिका र युरोपका देश पुगेका धेरै नेपाली पनि शरणाथी बन्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।