काठमाडौं- पूँजीबजार सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाब समूहले आजदेखि आमरण अनसनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन्।
नेपाल स्टक एक्सचेन्जको कार्यालय बाहिर दबाब समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनसन सुरु गरेको जानकारी दिए। दबाब समूहले विगत आठ दिनदेखि रिले अनसन गर्दै आएका छन्। उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार र सरकारी निकायले ध्यान नदिएको गुनासो गरे।
आमरण अनसन सुरु गरिए आाजकाे काराेबारमा भने कुनै प्रभाव नपरेकाे नेप्सेले जनाएकाे छ।
दबाब समूहका संयोजक ढकालले पूँजीबजारको सुधार गरी लगानीकर्ताको लगानी संरक्षण गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने बताए। उनले सरकारले गठन गरेको कार्यदलले आफूहरूको मागको सुनुवाइ नगरेको समेत गुनासो गरे।
लगानीकर्ताले पूँजीबजारको वृहत्तर हितका लागि अत्यावश्यक ऐन, नियम र कानुनसमेत समयमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको कार्यदलले अर्थमन्त्री डा युवराज खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।