काठमाडौं- विज्ञहरुले मुलुकको आर्थिक विकासका लागि धेरै मुलुकसँग सिधै हवाई सेवा विस्तार गर्न आवश्यक रहेको बताएका छन्।
विश्व बैंक र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाएरोमेन्टले तयार गरेको ‘ए ग्लास हाफ फुल’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा विज्ञहरुले सो कुरा बताएका हुन्।
मुलुकको व्यापार विस्तारको लागि विभिन्न मुलुकसँग हवाई सेवा विस्तार गर्न आवश्यक रहेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले थपे, 'हवाई सेवा विस्तार गर्न सकेको खण्डमा दोहोरो अंकको आर्थिक विकास गर्न सकिन्छ। हामीलाई अहिले दोहोरो अंकको दिगो आर्थिक विकास आवश्यक छ, त्यसमा सहयोग गर्ने वस्तुको आयातबाट हामी आत्तिनु हुँदैन।'
साथै अर्थमन्त्री खतिवडाले नेपाल जस्तो देशमा विकास घाटालाई नकारात्मक रुपमा मात्रै हेर्न नहुने बताएका छन्। भने, ‘अहिलेको अवस्थामा आयातको बारेमा चिन्ता लिने भन्दा निर्यातको बारेमा चिन्ता लिन आवश्यक छ।’
उच्च आर्थिक वृद्धिका लागि व्यापार अपरिहार्य रहेको भन्दै मन्त्री खतिवडाले उत्पादन र अर्थतन्त्रको गुणात्मक वृद्धिमा योगदान गर्ने वस्तुको आयातबाट आत्तिन नहुने पनि उल्लेख गरे।
वर्ल्ड बैंकका अर्थशास्त्री संजय कथरियाले नेपालले साउथ एसियाबाट मात्रै वार्षिक ३६ दशमलव १ प्रतिशत सामान आयात गर्दै आएको बताए। तर, यस अवधिमा नेपालले शून्य प्रतिशत सामान निर्यात गर्दै आएको उनको भनाइ छ। 'यसको मुख्य कारण भनेको धेरै मुलुकसँग सिधा रुपमा हवाई सेवा विस्तार हुन नसक्नु हो,' उनले भने, ‘नेपालले जति सक्दो चाँडो धेरै मुलुकसँग सिधै हवाई सेवा विस्तार गर्न सक्यो त्यति नै बढी निर्यात गर्न आवश्यक छ।’
साथै उनले अन्य क्षेत्रमा पनि पूर्वाधारको विकास गर्न आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले पनि आर्थिक विकासका लागि धेरै मुलुकसँग हवाई सेवा विस्तार गर्न आवश्यक रहेको बताए। उनले भने, ‘हामीले अहिले भएको हवाई सेवालाई अझै विभिन्न देशका मुलुकसँग विस्तार गर्न सकिएन भने आर्थिक विकासमा पछि पर्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।