काठमाडौं– बिमा क्षेत्रको नियामक निकाय बिमा समितिको निर्देशन अनुसार नेप्सेमा सूचीकृत १७ बिमा कम्पनीले चुक्ता पूँजी पुर्याउन नसक्ने देखिएको छ। समितिले चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमाससम्ममा ५ बिमा कम्पनीले मात्रै चुक्ता पूँजी पुर्याएका छन्।
समितिको निर्देशनअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महिना (पुस)सम्ममा निर्जीवन बिमा कम्पनीले १ अर्ब र जीवन बिमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था छ।
समितिले चुक्ता पूँजी पुर्याउन दिएको समय सीमा सकिन एक महिना मात्र बाँकी रहँदा ५ कम्पनीले मात्रै चुक्ता पूँजी पुर्याएका हुन्। यस अवधिमा एक जीवन बिमा कम्पनी र ४ निर्जीवन बिमा कम्पनी मात्रै चुक्ता पूँजी पुर्याउन सफल भएका छन्।
यद्यपि बिमा कम्पनीहरूको चुक्ता पूँजी पुर्याउने अवधिको विषयमा बिमा समितिले लचकता देखाउँदै आएको छ। समितिले बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ जारी गर्दै आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्ममा पूँजी बढाउन निर्देशन दिएको थियो।
तर, कम्पनीहरुले उक्त अवधिमा पूँजी जुटाउन नसकेमा पहिलो पटक ३ महिना समय थप गर्न सकिने निर्देशिकामा व्यवस्था छ। समितिले २ पटकसम्म समय थप गर्न सक्छ। यसरी समितिले थप गरेको ६ महिनाको समय आगामी पुसमा सकिँदै छ।
जीवन बिमा कम्पनीमध्ये एकको मात्र पुग्यो चुक्ता पूँजी
पुससम्म जीवन बिमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने हो। तर, पहिलो त्रैमाससम्म नेप्सेमा सूचीकृत ७ जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स बाहेक अन्य कम्पनीको चुक्ता पूँजी पुगेको छैन। चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।
यता सबैभन्दा थोरै चुक्ता पूँजी गुराँस लाइफ इन्स्योरेन्सको रहेको छ। कम्पनीको चुक्ता पूँजी चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ५९ करोड ४० लाख रुपैयाँ रहेको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासदेखि चुक्ता पूँजी बढाएको छैन। तसर्थ इन्स्योरेन्सलाई तीन महिनाको अवधिमा चुक्ता पूँजी पुर्याउन मुस्किल देखिन्छ।
कुन जीवन बिमा कम्पनीको चुक्ता पूँजीको अवस्था कस्तो?
४ निर्जीवन कम्पनीले मात्र पुर्याए तोकिएको चुक्ता पूँजी
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत १५ निर्जीवन बिमा कम्पनीमध्ये ४ वटाले मात्रै बिमा समितिले निर्धारण गरेको चुक्ता पूँजी पुर्याएका छन्। चुक्ता पूँजी पुर्याउने निर्जीवन बिमा कम्पनीमा शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स छन्।
शिखरको चुक्ता पूँजी १ अर्ब ५ करोड, हिमालयनको १ अर्ब २ करोड, नेकोको १ अर्ब १७ करोड र प्रभु इन्स्योरेन्सको १ अर्ब रुपैयाँ पुगेको छ।
हाल नेपालमा १८ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन्। तीमध्ये ७ वटा कम्पनी मात्रै नेप्सेमा सूचीकृत छन्। त्यस्तै, महालक्ष्मी जीवन बिमा कम्पनी सञ्चालनको तयारीमा छ।
नेपालमा निर्जीवन बिमा कम्पनीतर्फ २० वटा कम्पनी सञ्चालनमा छन्। त्यसमध्ये १५ वटा कम्पनी नेप्सेमा सूचीकृत छन्। तर, पूँजी वृद्धिको प्रावधान पुराना २६ वटा कम्पनीलाई मात्रै लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।