भैरहवा– जिल्लामा मेला-महोत्सवको रौनक छाएको छ। असोज देखि फागुुनसम्म विभिन्न संघसंस्थाले मेला तथा महोत्सव आयोजना गर्ने गर्दछन्।
यो वर्ष रुपन्देहीमा केही महोत्सव सम्पन्न भइसके भने केही मेला तथा महोत्सव हुने तयारीमा छन्। बुटवल मण्डपमा असोज १९ गतेदेखि २८ गतेसम्म औधोगिक प्रदर्शनी भयो। सैनामैना नगरपालिकाले कार्तिक ८ गतेदेखि १८ गतेसम्म व्यापार महोत्सव पनि सम्पन्न गरिसकेको छ। त्यस्तै, तिलोत्तमा नगरपालिकामा मंसिर ६ गतेदेखि मंसिर १८ गतेसम्म व्यापार मेला तथा पर्यटन महोत्सव आयोजना भइसकेको छ।
भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव जारी छ। मंसिर २० देखि सुरु भएको महोत्सव पुष १ सम्म चल्नेछ। यता बुटवलमा पौष ५ गतेदेखि लुम्बिनी एक्स्पोको आयोजना हुँदैछ। अहिले एक्स्पोको तयारी तीव्र पारिएको छ। त्यस्तै देवदहमा फागुन १६ गते देखि २६ गतेसम्म देवदह उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको आयोजना हुँदैछ।
यसका अलावा विभिन्न स्थानमा साना तथा ठूला महोत्सव र मेलाहरु आयोजना भइनै रहेकाछन् र हुने तयारीमा पनि छन्। तर, यस्ता मेला तथा महोत्सव आयोजना गर्नका लागि स्थायी मण्डपको अभावका कारण वर्षेनी करोडौं रुपैयाँ नोक्सान हुँदै आएको छ। यस क्षेत्रमा रुपन्देहीको बुटवलमा मात्र स्थायी मण्डप छ। त्यसबाहेकका स्थानमा लाखौं रकम खर्चेर अस्थायी मण्डपको संरचना निर्माण गर्दै मेला तथा महोत्सव सञ्चालन गर्नुपरिरहेको छ।
यो वर्ष मात्र रुपन्देहीमा तय भएका विभिन्न ६ वटा महोत्सवमध्ये सैनामैनामा १० लाख, बुटवलमा ३० देखि ४० लाख, तिलोत्तमा मेलामा ७० देखि ८० लाख, भैरहवामा ५० लाख, देवदहमा १० लाख र बुटवलमा व्यापार संघको आयोजनमा हुने मेलामा १ करोड रकम अस्थायी संरचना, सचिवालय, गेट, स्टल, मञ्च, तथा साज–सज्जा निमार्णमा खर्च भएको÷हुने मेला आयोजकहरुको दाबी छ। मेला महोत्सवकै अस्थायी संरचना निर्माणका लागि यो वर्ष रुपन्देहीमा २ करोड रुपैयाँ खर्चिइँदै छ।
उपभोक्तालाई उत्पादनसँग जोडेर व्यापार व्यवसायमा प्रवद्र्धन गर्ने तथा आम दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले गरिने महोत्सवमा वर्षेनी लाखौं रुपैया बालुवामा पनी खनाएसरी भएको छ। सरकारले स्थायी मण्डपका लागि आवश्यक जग्गाको जोहो नगरिदिँदा वर्षेनी करोडौं रुपैया खेर गएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए।
‘रुपन्देहीमा उद्योगी व्यवसायीका मात्र दर्जन बढी संघसस्ंथा छन्। वर्षेर्नी मेला लगाउनुपूर्व सोच्नु पर्ने अवस्था छ’, अध्यक्ष न्यौपानेले भने, ‘अस्थायी संरचनामा मेला तथा महोत्सव गर्नु पर्दा निकै समस्या पर्ने गरेको छ।
लामो समयदेखि मण्डप निर्माण गरिदिनका लागि सम्बन्धित निकायमा पहल गरेपनि सुनुवाइ नभएको उनले गुनासो पोखे। ‘लाखौँ रकम खर्च गरेर निर्माण गरेको संरचना भत्काउँदा नोक्सानी हुन्छ। त्यसमाथि अरुको जग्गा भाडामा लिनुपर्छ।’, न्यौपानेले भने, ‘स्थायी मण्डपका लागि माग गरेपनि हालसम्म नत केन्द्र सरकारले मण्डप बनाइदिएको छ, न त प्रदेश वा स्थानिय सरकारले सुनेको छ।’
व्यक्तिगत जग्गा भाडामा लिएर उद्योग व्यापार संगठन रुपन्देही तिलोत्तमा शाखाले मणिग्राममा औद्योगिक व्यापार मेला गरिरहेको छ। जसको अस्थायी संरचना निमार्णको लागि करिब ७० देखी ८० लाख रुपैयाँ खर्च भएको आयोजक सस्ंथा व्यापार संगठन, रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए।
मेला महोत्सवका लागि स्थायी संरचना नबन्दा अस्थायी संरचना निर्माणमा अधिक रकम खर्च भइरहेको छ। ‘मेला लगाउन र उत्पादनलाई उपभोक्तासम्म पुर्याउनका लागि केन्द्र देखि स्थानिय तहसम्म धेरै पहल गर्यौँ, अन्तिममा आएर व्यक्तिगत जग्गा भाडामा लिएर मेला लगाएका छौँ’, भण्डारीले भने।
लामो समयदेखि मेला-महोत्सव लाग्दै आएपनि सरोकारवाला निकायले मेलामहोत्सवको लागि स्थायी संरचनाको निमार्ण गर्न सकेको छैन। उद्योगी व्यवसायीहरुका संस्थाले हरेक वर्ष आयोजना गर्दै आएका मेला-महोत्सवमा अस्थायी संरचना निर्माण तथा सजावटका लागि प्रत्येक वर्ष जनही १० लाख देखि १ करोड रुपैयाँसम्म खर्च हुँदै आएको छ। जसले गर्दा मेला व्यवस्थापनको खर्च बढ्नुका साथै मेला समाप्तिसँगै भत्काउनुपर्ने भएकोले सो रकम फजुल खर्च भइरहेको प्रतित हुन्छ।
यस क्षेत्रमा मेला सञ्चालन गर्नका लागि स्थायी संरचनाका लागि सरकारले सहयोग गर्नुपर्ने सरकोकारवालाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।