काठमाडौं– अष्ट्रियाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न इच्छा देखाएको छ। नेपालका लागि अष्ट्रियाका आवासीय राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्दै नेपालको उर्जा क्षेत्रमा काम गर्न चांसो देखाएका हुन्।
अष्ट्रियाको जलविद्युत क्षेत्रमा काम गरिरहेको निजी कम्पनी एन्ड्रिजको ‘कस्टमर डे’को अवसरमा आयोजित कार्यक्रमपछि उर्जामन्त्री पुनलाई भेट्दै उनले अष्ट्रिया नेपालको उर्जा क्षेत्रमा लगानी र अनुभव आदानप्रदान गर्न इच्छुक रहेको धारणा राखे। त्यसका लागि नेपाल सरकारलाई औपचारिक रुपमा प्रस्ताव पठाउने तयारी भइरहेको उनको भनाइ थियो।
मन्त्री पुनसँग बुधबार अष्ट्रियाको ट्रान्सपोर्ट र प्रविधि मन्त्रालयका आसियान र विमस्टेक क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक मिचेल लिडरेरले समेत भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटमा निर्देशक मिचेलले उर्जा क्षेत्रमा औपचारिक सम्बन्ध स्थापना गर्न अष्ट्रिया इच्छुक रहेको धारणा राखे।
‘नेपालमा जलविद्युतको ठूलो सम्भावना छ, हामी यहाँको जलविद्युतमा लगानी गर्नुका साथै प्रविधिमा समेत सहयोग गर्न चाहन्छौं।’, क्षेत्रीय निर्देशक मिचेलले भने।
उनले अष्ट्रिया सरकारले नेपालसँग औपचारिक रुपमा सहकार्यका लागि प्रस्ताव पठाउने जानकारीसमेत दिए। उनले भने, ‘हाम्रो अनुभव नेपालसँग बाड्न चाहन्छौं, त्यसका साथै नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि पनि हामी इच्छुक छौं।’
जवाफमा उर्जामन्त्री पुनले जलविद्युतमा अष्ट्रियाको प्रविधि संसारमै निकै चर्चित रहेको भन्दै नेपालमा पनि अष्ट्रियन कम्पनीहरुले काम गरिरहेको भन्नेमा आफू जानकार रहेको बताए। उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै नेपालमा लगानीका लागी उपयुक्त वातावरण भएको धारणा राखे। मन्त्री पुनले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए।
मन्त्री पुनले उर्जा क्षेत्रमा सहकार्य गर्ने अष्ट्रियाको प्रस्तावमा आफू सकरात्मक भएको भन्दै छिट्टै औपचारिक तहबाट सहकार्यसम्बन्धी छलफल अगाडि बढाउने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।