सिक्लेस (कास्की) – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष नबढेको वृद्धभत्तालाई आगामी बजेटमा क्षतिपूर्तिसहित व्यवस्था गर्ने सहमति भइसकेको बताएका छन्।
'हामीले पाँच हजार पुर्याउँछौं भनेर चुनावको बेलामा भनियो। तर अहिले पाँच पैसा पनि बढेन। हामीले यो समीक्षा गरिसकेका छौं', मंगलबार सिक्लेसमा पत्रकारहरुसँगको छलफलमा भने, 'अब बिस्तारै नयाँ बजेटको तयारी हुन्छ। त्यसमा हामीले हिजो गरेका संकल्प पूरा गर्नुछ। अब यो वर्ष वृद्धभत्ता नबढेको क्षतिपूर्तिसहित बजेटमा व्यवस्था गर्ने भन्ने कुरा सचिवालयमा सहमति भइसकेको छ। एक मत नै छ।'
अरु विकास निर्माणका कामले पनि विस्तारै गति लिन थालेको भन्दै प्रचण्डले सिक्लेस आउने बाटो पिच गर्ने नैतिक जिम्मेवारी आफ्नो भएको बताए। 'यहाँबाट गएर सरकारसँग कुरा गर्छु', उनले भने।
उनले तीन महिनाभित्र तल्ला कमिटी र जनवर्गीय संगठनको पनि एकता गरिसक्ने भनिएको भए पनि पछि विवाद नआओस् भनेर कार्यदल बनाउने र अन्तरक्रिया गर्ने समय दिँदा ढिला भएको बताए। 'त्यस्तै प्रधानमन्त्री र अन्य नेताहरुको भ्रमणले पनि ढिला भएको हो', उनले भने, 'अब एकताको ढोका खोलिएको छ। टुंगिनेतिर गएको छ।'
उनले ठूला प्रोजेक्टहरुका सन्दर्भमा सकेसम्म राष्ट्रिय सहमति बनाउने सरकार प्रयासरत गरेको बताए। 'कांग्रेस, हाम्रो दल र केही मधेस केन्द्रित दलहरुबीच सहमति बनाएर ठूल्ठूला प्रोजेक्टहरु अगाडि बढाउने कोसिस हाम्रो पार्टी र सरकारले गरिरहेको छ। त्यसको नतिजा केही समयपछि देखिन्छ। त्यसले एउटा गति लिन्छ', उनले भने।
सरकारले यसबीच विकास निर्माणको निम्ति कानुनी र राजनीतिक आधार तयार पार्ने कुरामा महत्त्वपूर्ण काम गरेको प्रचण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।