जनकपुर- विवाह पञ्चमी महोत्सव नजिकिँदै गर्दा जनकपुरमा विशेष सुरक्षा योजना तयार गरिएको छ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने कार्यक्रम तय भएपछि सुरक्षा निकायले विशेष सुरक्षा बन्दोबस्तको तयारी गरेको हो।
आगामी बुधबार हुने राम–जानकी विवाह महोत्सवमा भिड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको छ। सेनालाई स्ट्यान्डबाई राखिने भएको छ भने सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ।
त्यसैगरि राम–जानकी विवाह महोत्सवमा नेपाल प्रहरीले ड्रोनबाट भिडको निगरानी गर्ने भएको छ। मुख्य प्रवेशद्वारमा रहने ‘वाक थ्रो गेट’बाट पनि भिडको निगरानी गरिने प्रदेश २ का प्रमुख डिआइजी हरिबहादुर पालले बताए।
जानकी मन्दिर र रंगभूमि मैदानमा प्रवेश गर्ने सबैलाई मेटल डिटेक्टर गेटबाट मात्र पठाउने निर्णय पनि समितिले गरेको छ। यी दुवै स्थानमा दर्शनार्थीको ठूलो भिड लाग्छ। आदित्यनाथ जानकी मन्दिर र रंगभूमि मैदान पुग्दा भिड व्यवस्थापन प्रमुख चुनौती हुने आकलन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।
एयरपोर्ट, जानकी मन्दिर, रंगभूमि मैदान र प्रदेश सरकारको सचिवालय रहेको मधेस भवनका लागि फरक–फरक सुरक्षा बन्दोबस्त मिलाइएको उनले जानकारी दिए।
प्रदेश २ का प्रमुख डिआइजी हरिबहादुर पालले सुरक्षाको सबै योजना तयार पारिएको बताउँदै नेपाल र सशस्त्र प्रहरीका ३ हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए। 'त्यसका लागि बाहिरबाट पनि थप सुरक्षाकर्मी झिकाइएको छ,' उनले भने।
जनकपुरमा मंगलबार र बुधबार रक्सी, माछा–मासुको बिक्रीवितरण तथा सेवनमा निषेध गरिएको प्रजिअ कँडेलले बताए। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुरक्षा समितिले मंसिर २५ गते रातिदेखि २६ गतेसम्म जनकपुरमा सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ।
के गर्नेछन् योगी आदित्यनाथले?
आदित्यनाथ उत्तर प्रदेशबाट हवाईजहाजमा सिधै जनकपुर आउनेछन्। उनी दिनभर तीन कार्यक्रममा सहभागी हुने बताइएको छ।
एयरपोर्टबाट सिधै जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने योगी आदित्यनाथको कार्यक्रम छ। त्यहाँबाट प्रदेश सचिवालय पुग्नेछन्। उनको सम्मानमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिवाभोज (भण्डारा) आयोजना गर्ने कार्यक्रम तय गरिएको छ। दिवाभोज लगत्तै योगी रंगभूमि मैदानमा आयोजना गरिने राम–सीताको प्रतीकात्मक वैवाहिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
१० लाख भित्रने अनुमान
यस वर्ष योगी विवाह पञ्चमीमा जन्ती बनेर आउने भएपछि मेलामा दर्शनार्थीको उच्च चाप हुने अनुमान गरिएको छ। जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले यस वर्ष मेला भर्ना स्वदेशी तथा विदेशी दर्शानार्थी र पर्यटकहरु गरी १० लाखको सहभागिता रहने अनुमान गरे।
त्रेता युगमा भएको राम–सीताको विवाह सम्झनामा जनकपुरमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि धुमधामका साथ मनाइँदैछ। वैवाहिक कार्यक्रमका लागि रामजानकी मन्दिर यतिबेला बेहुलीझैं सिँगारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।