काठमाडौं– केरुङ-काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक प्रतिवेदन चीनले नेपाल सरकारलाई बुझाएको छ।
काठमाडौंमा सोमबार आयोजित नेपाल–चीन रेल्वे को–अपरेसन कमिटीको तेस्रो बैठकमा चीनले उक्त प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो।
चीनको ‘नेसनल रेल्वे अथोरिटी’ का उपप्रशासक आन लुसुङ नेतृत्वको समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई रेलमार्ग निर्माणसम्बन्धी प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमाथि डिसेम्बर १३ सम्म छलफल हुने मन्त्रालयले जानकारी दिएको छ।
उक्त प्रतिवेदनका आधारमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्ने सहमति दुवै पक्षबीच जुटेको छ।
त्यस्तै, सोही योजना अन्तर्गतको काठमाडौं–लुम्बिनी रेलमार्गका निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन अघि बढाउने सहमति जुटेको पनि सचिव अधिकारीले बताए।
चिनीयाँ पक्षले काठमाडौं–पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यसका लागि आन नेतृत्वको चिनीयाँ उच्चस्तरीय टोली मंगलबार रसुवा र बुधबार पोखरा जाने कार्यक्रम पनि तय भएको सचिव अधिकारीले बताए।
१ सय ७१ किलोमिटर लामो प्रस्तावित काठमाडौं–पोखरा रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यसअघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ।
९ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजना रहेको सो रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।
चीनमा आयोजना हुने आगामी बैठकले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।