काठमाडौं– आइतबारदेखि सुरु अन्तरप्रदेश परिषद्को बैठक सकिएको छ।
सोमबारको बैठकमा प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेल, कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदुरपश्चिम प्रदेशका मख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना प्रदेशका समस्याका बारेमा प्रतिवेदन पेश गरेका थिए।
अन्य चार मुख्यमन्त्रीले भने आइतबारको बैठकमै आफ्ना कुरा राखिसकेका छन्।
बैठकको समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको बताएका छन्।
'कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन्। उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन्', प्रधानमन्त्री ओलीले भने, 'त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन। हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन्। उनीहरुले जाने बुझे अनुसार सहयोग नै गरेका छन्।'
आवश्यकता अनुसारका कर्मचारी नहुँदा प्रदेशहरुमा कर्मचारीको अभाव भएको हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
लोकतन्त्र विरोधी केही तत्वहरुले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए। 'सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ। संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्नेहरु गौंडाहरु कुरेर बसेका छन्', प्रधानमन्त्री ओलीले भने, 'त्यस्ताहरुलाई मौका दिनु हुँदैन।'
देशमा अनेक नाममा द्वन्द्व मच्चाउने र विखण्डनको प्रयास गर्नेका विरुद्ध सरकारले कडा कदम चाल्ने प्रधानमन्त्री ओलीले बताए। 'देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। अब चाहिएको कुन व्यवस्था हो? यही व्यवस्था भित्रबाट जे चाहिएको हो, त्यही कुरा पाउन सकिन्छ', उनले भने, 'त्यसकारण अनेक नाममा बखेडा किन झिक्ने? यो त केवल चन्दा उठाउने र जनतालाई त्रसित पार्ने काम मात्र हो।'
आजको बैठकले प्रदेश र संघका काममा तालमेल मिलाउन, आवश्यक कानुनहरुको परिर्माजन गर्न र प्रदेशहरुलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्नका लागि गृह मन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा एक समिति गठन गरेको छ।
समितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा युवराज खतिवडा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल र मुख्य सचिव लोकदर्शन रेग्मी रहेको एक समिति गठन गरेको छ।
समितिलाई आगामी पुस ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने जिम्मा दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।