काठमाडौं– बैंकहरुले ब्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको छ। बुधबार नेप्से परिसूचक २२ दशमलब ८० अंकले घटेको छ।
निरन्तर रुपमा ओरालो लागेको सेयर बजारमा बैंकर्स संघले व्यक्तिगत निक्षेपको ब्याजदर आफ्नो अनुकूलतामा तोक्न बैंकहरूलाई खुला छाडिदिएसँगै यसको प्रत्यक्ष असर बजारमा परेको जानकारहरु बताउछन्।
सेयर लगानीकर्ताको छाता संगठन नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अहिले बैंकिङ क्षेत्रमा भएको लगानीयोग्य पूँजी (तरलता) अभाव देखावटी भएको बताए। भने, ‘सीमित बैंकहरुले देखावटी रुपमा तरलता सिर्जना गरेर आफ्नो अनुकुलतामा ब्याजदर निर्धारण गर्ने निर्णय गरे। यसको प्रत्यक्ष असर सेयर बजारमा पर्यो।’
उपाध्यक्ष रौनियारले तरलता सिर्जना गरी ब्याजदर बढाउने बैंकलाई नेपाल राष्ट्र बैंकले तत्काल कारबाही गर्नुपर्ने बताए। ब्याजदरको असर सेयर बजारमा मात्रै नभएर अन्य क्षेत्रको लगानीमा पनि पर्ने उनको तर्क छ।
बैंकर्स संघको निर्णय आएसँगै मंगलबार नै जनता बैंकले मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत पुर्याएको थियो। त्यस्तै, बुधबार माछापुच्छ्र्रे बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर साढे १२ प्रतिशत रहने तोकेको छ।
बुधबार १ सय ५६ कम्पनीको ३७ करोड ७२ लाख ८६ हजार २ सय ७९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। नबिल बैंकको सर्वाधिक सेयर किनबेच भएको छ। बैंकको ३ करोड ५४ लाख १४ हजार ९ सय ७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
त्यस्तै ग्लोबल आइएमई बैंकको २ करोड ८७ लाख ९५ हजार १ सय ९६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बुधबार कारोबारमा आएको सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै गुमाउनेमा निर्जीवन बिमा समूहअन्तर्गतका लगानीकर्ता रहेका छन्। समूहको सेयर मूल्य १ सय ८५ दशमलब २६ अंकले घटेको छ। त्यस्तै, जीवन बिमा समूह ९६ दशमलब ०१ अंकले घटेको छ।
सबैभन्दा धेरै कमाउनेमा हाथवे फाइनान्सका लगानीकर्ता रहेका छन्। फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँले बढेर १ सय १० रुपैयाँमा कारोबार रोकिएको छ। दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ३ रुपैयाँले बढेको छ। इता, राधी जलविद्युतको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।