काठमाडौं– राष्ट्रिय सभा सदस्य पदमबहादुर परियार नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन हुन असफल भएका छन्।
कांग्रेसको दलित समानुपातिकतर्फ भएको निर्वाचनमा परियार पराजित भएका हुन्। निर्वाचन परिणामपछि प्रतिक्रिया दिँदै उनले आफूलाई मतदान र समर्थन गर्ने क्षेत्रीय प्रतिनिधिलाई धन्यवाद दिएका छन्।
परियारले आफूले कुनै गुट वा उपगुटको पक्ष नलिई लोकतान्त्रिक विधि र प्रक्रियामार्फत निर्वाचनमा सहभागिता जनाएको बताएका छन्।
निर्वाचनको परिणामले आफू र आफ्ना समर्थकलाई निराश वा विचलित नबनाउने उल्लेख गर्दै उनले कांग्रेसको चारतारे झण्डामुनि आगामी दिनमा पनि सक्रिय राजनीति जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दलित समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित अमृतबहादुर नेपालीलाई बधाई दिँदै परियारले सफल कार्यकालको शुभकामना दिएका छन्।
उनले निर्वाचन प्रक्रियामा सहयोग गर्ने पार्टीका अग्रज तथा युवा नेता, निर्वाचन आयोग, स्वयंसेवक, प्रचारक, शुभेच्छुक तथा आफूलाई मतदान गर्ने क्षेत्रीय प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।
परियारले निर्वाचनमा पराजयलाई आफूले राजनीतिक यात्राको अन्त्यका रूपमा नलिएको संकेत गर्दै पार्टी संगठनमा निरन्तर सक्रिय रहने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।