काठमाडौं– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासंघलाई जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १४ गते प्रतिनिधिसभाको बैठकमा खत्रीले प्रेस काउन्सिललाई लक्षित गर्दै पत्रकार हुन् कि गुण्डा भन्दै दिएको अभिव्यक्ति अशोभनीय, अमर्यादित र अराजक रहेको जनाएको हो।
महासंघका अनुसार खत्रीले ‘पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। पूर्वपत्रकारसमेत रहेका खत्रीबाट आएको यस्तो अभिव्यक्ति झनै आपत्तिजनक रहेको महासंघको भनाइ छ।
महासंघले खत्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै तत्काल क्षमा माग्न आग्रह गरेको छ। विवादित अभिव्यक्तिका कारण खत्रीले शुक्रबार आयोजना गर्न लागेको अन्तरक्रिया भक्तपुरका पत्रकारहरूले बहिष्कार गर्ने जानकारी गराइसकेको समेत महासंघले जनाएको छ।
महासंघले खत्रीको उक्त अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन सभामुखसँग माग गरेको छ। साथै संवैधानिक अधिकारको ख्याल नगरी पत्रकार तथा प्रेस जगतलाई धम्क्याउने वा अपमानित गर्ने गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारिता क्षेत्रको स्वतन्त्रता र संवैधानिक अधिकारको सम्मान गर्नसमेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।