काठमाडौं– बैंकर्स संघले व्यक्तिगत निक्षेपको ब्याजदर आफ्नो अनुकूलतामा तोक्न वाणिज्य बैंकहरूलाई खुला छाडिदिएसँगै ब्याजदर बढाउने प्रतिस्पर्धा भएको छ।
बैंकर्स संघको निर्णय आएसँगै मंगलबार नै जनता बैंकले मुद्दति निक्षेपको ब्याजदर १२ प्रतिशत पुर्याएको थियो।
त्यस्तै, बुधबार माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ। प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिन्छ। तसर्थ बैंकको ब्याज १३ प्रतिशतसम्म पुग्नसक्छ। माछापुच्छ्रे बैंकले एकदेखि ५ वर्षसम्मका लागि ब्याज साढे १२ प्रतिशत पुर्याएको हो।
यद्यपि माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमाससम्ममा बैंकको कर्जा पूँजी निक्षेप अनुपात (सिसिडी रेसियो) ७८ दशमलव ९२ प्रतिशत रहेको छ।
सिसिडी रेसियो ८० प्रतिशत भन्दा बढी पुगेका बैंकले ऋण दिन सक्दैनन्। राष्ट्र बैंकको नियमअनुसार बैंकहरूले सिसिडी रेसियो बढीमा ८० प्रतिशतसम्म बनाउन पाउँछन्। बैंकहरूको निक्षेप बढेसँगै सिसिडी रेसियोमा गिरावट आउँछ।
विगतमा भद्र सहमति नहुँदा ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।