काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारहरु म्यानपावर कम्पनीबाट पटकपटक ठगिने गरेका छन्। म्यानपावर कम्पनीविरुद्ध वैदेशिक रोजगार विभागमा परेका उजुरीले पनि कामदार ठगीको कहालीलाग्दो तथ्य उजागर गर्छन्।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा एउटै म्यानपावर कम्पनीविरुद्ध १६ वटासम्म उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ।
वैदेशिक रोजगारीको खोजीमा रहेका युवालाई विदेश पठाउने क्रममा दुःख दिएको र समस्यामा पारेको र ठगी गरेको भन्दै पीडितहरुले एउटै म्यानपावरका नाममा १६ वटा मुद्दा दर्ता गराएको विभागले जानकारी दिएको छ।
आर्थिक वर्ष भएको ४ महिनामा सुनेरा नेपाल इनकोअपरेट प्रालि (लाइसेन्स नम्बर ३६७)का नाममा १६ वटा उजुरी पीडितले दर्ता गराएको विभागले जानकारी दिएको छ।
यो अवधिमा एसोसिएट्स वेलकम इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालि (लाइसेन्स नम्बर १०२२) का नाममा १५ वटा मुद्दा विभागमा दर्ता छन्। यस्तै, पाथ इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिस प्रालि (लाइसेन्स नम्बर ६०७) का नाममा १४ वटा र डाइनामिक ग्लोबल एचआर प्रालि (लाइसेन्स नम्बर ७३१) का नाममा १२ वटा उजुरी विभागमा दर्ता भएका छन्।
विभागमा ५० वटासम्म म्यानपावरको नाममा रोजगारपीडितले उजुरी दर्ता गराएको पाइन्छ। पछिल्लो समय स्वदेशमा भन्दा विदेश पुगेर फर्किएका धेरै पीडित समस्या लिएर आउने गरेको विभागले जानकारी दिएको छ।
एउटा काम भनेर अर्कै काममा लगाउने, रोजगारदाता कम्पनीले नेपालमा सम्झौता भएअनुसार सेवाशुल्क नदिएको र रोजगारदाता कम्पनीले धेरै पीडा दिएको उजुरी आउने गरेको विभागले जनाएको छ।
३ पटकभन्दा बढी ठगी गर्ने म्यानपावर खारेज हुनसक्ने
वैदेशिक रोजगार ऐन, २०६४ मा म्यानपावर कम्पनीविरुद्ध विभागमा पीडित कामदारले उजुरी गरेपछि एक पटक सचेत गराई जरिवाना, दोस्रो पटक जरिवाना तथा जेल सजायसम्मको कारबाही र तेस्रो पटक धरौटी जफत वा म्यानपावर कम्पनी नै खारेजसम्मको व्यवस्था छ।
वैदेशिक रोजगारमा कामदार पठाउने म्यानपावर कम्पनीका नाममा ३ पटकभन्दा बढी उजुरी विभागमा परे छानविन गरी दोषी देखिएमा म्यानपावर कम्पनीलाई खारेज गर्नसक्ने अधिकार विभागसँग छ।
तर, विभागले अहिलेसम्म धेरै मुद्दा परेका म्यानपावर कम्पनीको कामकारबाही मात्र रोक्का गर्ने गरेको पाइन्छ। ऐनमा भएको व्यवस्थाअनुसार धेरै मुद्दा परेका कुनै पनि म्यानपावरलाई खारेज गरेको प्रमाण विभागसँग छैन। ऐनअनुसार कारबाही नहुँदा रोजगार व्यवसायीको मनोबल बढेर कामदारलाई दुःख दिने नियतमा नै सहयोग पुगेको स्पष्ट हुन्छ।
पछिल्लो ४ वर्षको अवधिमा पीडितले विभागको मुद्दा शाखामा तीन म्यानपावर कम्पनीका नाममा सयभन्दा बढी मुद्दा दर्ता गराएका छन्। आर एन्ड आर ग्लोबल ट्रयाकर प्रालिका नाममा १ सय २१, द रिभर ओभरसिज प्रालिका नाममा १ सय १६ र प्याराडाइस इन्टरनेसनल प्रालिका नाममा १ सय ११ वटा मुद्दा विभागमा दर्ता छन्।
एउटै म्यानपावरका नाममा ठूलो संख्यामा मुद्दा परे पनि विभागले म्यानपावर कम्पनीलाई कस्तो कारबाही गर्दै आएको छ भन्ने तथ्य खुलाइएको छैन।
विभागको मुद्दा शाखामा ४ वर्षको अवधिमा २० वटा म्यानपावर कम्पनीका नाममा ५० भन्दा बढी उजुरी परेका छन्। त्यस्तै पीडितले ३० म्यानपावरका नाममा ३० वटाभन्दा बढी उजुरी दर्ता गराएका छन्।
५० वटा म्यानपावरका नाममा ४ वटाभन्दा बढी उजुरी दर्ता गरिएको शाखाको तथ्यांकमा उल्लेख छ। विभागमा मासिक ९० वटासम्म मुद्दा दर्ता हुने गरेका छन्। तर, यी म्यानपावरले प्रायः सामान्य तरिकाले मुद्दा मिलाउने गरेका छन्। ऐनले दिएको अधिकारमा टेकेर विभागले कारबाही गर्न नसक्दा म्यानपावरले कामदारलाई पटकपटक दुःख दिने गरेका छन्।
ऐनमा टेकेर कारबाही
वैदेशिक रोजगार ऐनले दिएको अधिकार प्रयोग गरेर काम गर्ने अवसर विभागलाई कमै मात्र छ। विभागमा उुजरी परेका आधारमा म्यानपावरमाथि खासै कारबाही नहुँदा रोजगारीका नाममा हुने ठगी कम हुन सकेको छैन।
वैदेशिक रोजगार क्षेत्रमा विकृति र बेथिति मौलाएको विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले बताए।
विभागले म्यानपवार र कामदारका समस्या बुझेर दुवैलाई व्यवस्थापन गर्दै लैजानुपर्ने बताए। उनले भने, ‘विभागले कानुनले दिएको अधिकारअनुसार काम गरे पनि कतिपय विषयमा अधिकार प्रयोग गर्न सकिँदैन।’
जनशक्ति कम भएका कारण विभागले गर्ने दैनिक कामकारबाहीमा पनि समस्या देखिएको उनको भनाइ छ। विभागमा आएका रोजगारपीडितका समस्या दैनिक समाधान गर्ने गरेको महानिर्देशक चापगाईंको दाबी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।