काठमाडौं– वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा अब आफ्नो अनुकुलतामा ब्याज निर्धारण गर्न पाउने भएका छन्। बैंकर्स संघको मंगलबार बसेको बैठकले बैंकहरूलाई व्यक्तिगत निक्षेपमा लगाएको सीमा हटाएको हो।
यसअघि संघले व्यक्तिगत निक्षेपमा १० दशमलव ५ प्रतिशतभन्दा बढी ब्याजदर नदिने निर्णय गरी सिन्डिकेट लगाएको थियो। तर निक्षेपकर्ता र बैंकबीचको आपसी समझदारीमा बढीमा ११ प्रतिशतसम्म दिन सक्ने सहमति भएको थियो।
बैंकर्स संघको यो निणर्यसँगै बैंकहरूबीच निक्षेपमा ब्याजदर बढाउने प्रतिस्पर्धा हुने एक बैंकरले बताए। ‘संघको निर्णय भएसँगै बैंकहरूबीच निक्षेपकर्ता आकर्षण गर्ने प्रतिस्प्रर्धा चल्ने छ,’उनले भने।
त्यस्तै संघले बचतमा पनि केही लचकता अपनाएर ७ प्रतिशतसम्म ब्याज दिन पाउने निर्णय गरेको छ। त्यसैगरी संस्थागत निक्षेपको ब्याजदरमा पनि लचक नीति अपनाइएको छ।
यसैगरी, १० वर्षसम्मका संस्थागत निक्षेपमा ११ प्रतिशत र १० वर्षभन्दा बढी अवधिको संस्थागत निक्षेपमा बैंक र निक्षेप राख्ने संस्थाबीचको आपसी सहमतिमा ब्याजदर निर्धारण गर्न सकिने गरी संघले निर्णय गरेको छ।
यसअघि एनआइसी एशियाले व्यक्तिगत तर्फ मुद्दति निक्षेपमा १३ प्रतिशत ब्याज निर्धारण गर्दा सदस्यता खारेज गर्ने चेतावनी बैंकर्स संघले दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।