काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई द्रुत गतिमा अघि बढाउन पहल थालेका छन्।
सिंहदरबारस्थित उर्जा मन्त्रालयमा सोमबार मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परियोजना प्रमुख विज्ञान श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधिलाई राखेर आयोजनामा देखिएको समस्यालाई हल गर्ने तथा कामलाई द्रुत गतिमा अघि बढाउने विषयमा छनफल गरेका हुन्।
सोमबार भएको छलफलमा मन्त्री पुनले निर्माण कम्पनीलाई ७ दिन भित्र काम अघि बढाउनेगरी स्पष्ट खाकासहित प्रस्तुत हुन निर्देशन दिएका छन्।
‘अब समयमा सम्झौता हुँदैन, गुणस्तरमा पनि हामी सम्झौता गर्दैनौं, आयोजनाको काम कँहा, कसरी र कहिले सक्ने हो, त्यसको स्पष्ट खाकासहित ७ दिनभित्र जवाफसहित प्रस्तुत हुनुहोस्।’, मन्त्री पुनको निर्देशन थियो।
उनले निर्माण कम्पनीले समयमा काम अघि नबढाएको खण्डमा र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भए पनि प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिए। उर्जामन्त्री पुन यसअघि आयोजनाको प्रगतिको बारेमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दोलखा पुगेका थिए।
निर्माण कम्पनी ‘टेक्सम्याको’ले काम छिटोभन्दा छिटो अघि बढाउने र समयसीमाभित्रै खाका बुझाउने प्रतिबद्धता जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।