काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलार्ई देश विकासमा सहयोग गर्न आग्रह गरेकी छिन्। विदेशमा रहेर हासिल गरेको ज्ञान, सीप र शिक्षालाई देश विकासमा लगाउन उनले गैरआवासीय नेपालीहरूलाई आग्रह गरेकी हुन्।
चार दिने पोल्यान्ड भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले उनको सम्मानमा बर्लिनस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन्। बर्लिनस्थित नेपाली दूतावासले पोल्याडसमेत हेर्न गर्छ।
राष्ट्रपति भण्डारीको स्वागत कार्यक्रममा उपस्थित पोल्यान्ड र युरोपका अन्य ठाउँबाट आएका नेपालीहरूलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्। नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै उनले नेपालमा लगानी भित्राउने विषयमा विदेशमा रहेका नेपालीहरूको सहयोग आवश्यक हुने कुरामा जोड दिइन्।
‘विदेशमा रहेका नेपालीहरू राष्ट्रको अघोषित राजदूत हुन्’, राष्ट्रपति भण्डारीले भनिन्। कार्यक्रम नेपाल पोल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा आयोजना गरिएको थियो। राष्ट्रपति भण्डारीले पोल्याडसँगको नेपालको सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्ने विश्वास व्यक्त गरिन्।
जलवायु तथा मौसम परिवर्तन (कोप २४) सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी पोल्यान्ड गएकी हुन्। मंसिर १६ बाट सुरू भएको कार्यक्रम मंसिर २८ गतेसम्म चल्ने भए पनि राष्ट्रपति भण्डारी कार्यक्रमलाई सम्बोधन गर्दै मसिर १९ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।