काठमाडौं- वैदेशिक रोजगारी सरकारका लागि चुनौती भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन्। 'आइसिटी क्षेत्रमा रोजगारीका अवसर' विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीका कारण देशभित्रको श्रम रोजगारी संकटमा पर्दै गएको धारणा राखेका थिए।
सूचना प्रविधिको क्षेत्रबाट पनि मुलुकमा पनि धेरै बेरोजगारीका समस्या समाधान हुने भन्दै मन्त्री विष्टले भने, 'वैदेशिक रोजगारीका कारण काम गर्ने संस्कार हराउँदै गएका र पैसा कमाउन विदेशै जानुपर्छ भने मान्यता हाम्रा युवामा बसेको छ। यो सोच परिवर्तन गरी युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी श्रम मन्त्रालयका बाँधमा आएको छ। यो काम गर्न धेरै चुनौती भएपनि सामाना गरेर आन्तरिक श्रम बजारमा युवालाई रोजगारका अवसर निर्माण गरिने छ।’
श्रम मन्त्रालयको पछिल्लो उच्च प्राथमिकता रोजगारीका अवसर सिर्जना गर्ने नै भएको उनको भनाइ छ। नेपाली श्रम, सीपलाई स्वदेशमै उपयोग गरेर ‘सुखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियान साकार बनाउन सरकारले चाहिरहेको पनि दोहोर्याएका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले स्वदेशमै पनि रोजगारीका अवसर छन् भनेर युवालाई आन्तरिक श्रम बजारमा भित्र्याउन विषेश योजना ल्याउनुपर्ने बताएका छन्। रोजगारका लागि अन्तर-मन्त्रालय समन्वयन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले आवश्यकताअनुसार र आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षाको विकास गर्नुपर्ने धारणा राखेका थिए।
यस्तै, काठमाडौं विश्वविद्यालयका प्रोफेसर मनिष पोखरेलले सरकारले आन्तरिक श्रम बजारलाई व्यवस्थापन गर्दै प्रविधिक क्षेत्र सुधारका लागि आवश्यक पहल गर्नुपर्ने बताए।
आगामी ५ वर्षभित्र देशमा आइसिटी क्षेत्रमा १ लाख युवालाई रोजगारीका अवसर निर्माण गरिने श्रम मन्त्रालयको एक अध्ययनमा उल्लेख गरिएको छ।
आइसिटी क्षेत्रमा उत्पादन भएका जनशक्तिलाई देशभित्रै रोजगारीको अवसर नपाउदाँ विदेश पयालन हुने गरेका छन्। नेपालका विभिन्न विश्वविद्यालयबाट वार्षिक करिब ७ हजार आइसिटी क्षेत्रका जनशक्ति श्रम बजारमा आउने गरेको सरकारी अध्ययनमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।