काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले कामदार पठाउने विषयमा मलेसिया सरकारसँग मन्त्रीस्तरमा संवाद भइरहेको बताएका छन्। वैदेशिक रोजगारीमा जाने कामदारमाथि सिन्डीकेट लगाई कामदार पठाउने काम कुनै हालतमा पनि ब्युँताउन नदिने समेत मन्त्री विष्टले दोहोर्याए।
मलेसियाको रोजगारी व्यवस्थित बनाई दुई देशबीच भएको श्रम सम्झौतामा नै श्रमिकका हकअधिकारका विषय प्रष्ट खुलाइएको श्रम मन्त्री विष्टले बताए। 'मलेसियासँग श्रम सम्झौता भएपछि उक्त श्रम सम्झौता विफल पार्ने बिचौलिया सक्रिय भएर लागि परेका छन्। यो विषयमा मन्त्रालय सचेत छ। गरिब र श्रमिकको पसिना चुस्न पल्केकाले मलेसियासँग भएको श्रम सम्झौता असफल पार्न देश विदेशका दलाल लागि परेका छन्,’ मन्त्री विष्टले भने।
सरकारी काममा बाधा अडचन पुर्याउन खोज्ने बिचौलियालाई कानुनी कारबाही हुन्छ। श्रमिकको भविष्यमाथि खेलबाड गर्नेलाई छाडिदैन’, मन्त्री विष्टले भने, ‘सरकार श्रमिक आपूर्ति गर्ने विषयमा निहुरिएर सम्झौता गर्ने पक्षमा छैन।’
श्रम सम्झौता भएपनि केही जटिल प्राविधिक विषयमा छलफल भइरहेकाले मलेसिया रोजगारी खुल्न ढिलाई भएको मन्त्री विष्टको भनाई छ। बरम्बार छलफल भइरहेको अब चाँडै निष्कर्षमा पुग्ने मन्त्री विष्टले बताए।
नेपाल सरकार र मलेसियाबीच श्रम सम्झौता भएको एक महिना बितिसक्दा पनि त्यहाँको रोजगारी कहिले खुल्छ टुंगो छैन। गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर महिनाबाटै कामदार मलेसिया जान सुरु गर्ने बताएको भएपनि हालसम्मको तयारीले त्यस्तो संभावना क्षीण बन्दै गएको छ।
मन्त्रालयले केही प्रविधिक विषय टुंग्याउन बाँकी रहेका कारण ढिलो भएको बताउँदै आएको छ। मलेसिया जान प्रतीक्षारत श्रमिक र कामदार आपूर्ति गर्दै आएका रोजगार व्यवसायी भने त्यहाँको रोजगारीप्रति सशंकित हुन थालेका छन्। सरकारले मलेसिया रोजगारी खुलाउने विषयमा कुनै तथ्य सार्वजनिक नगरेपछि मलेसियाको रोजगारीका विषयमा विभिन्न किसिमका टीकाटिप्पणी हुन थालेका छन्।
मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्दै आएका ५ वटा संस्था खारेज गर्ने निर्णय श्रम मन्त्री गोकर्ण विष्टले गत जेठ २ गते गरेका थिए। पछिल्लो समय तीनै संस्था सञ्चालक पुनः संस्था ब्युँत्याउन ठुलो चलखेल गरिरहेका छन्। मन्त्री विष्टले कामदारमाथि ठगी गर्ने संस्थालाई कारबाही गरेपछि त्यस्तै संस्था र प्रक्रिया सञ्चालन गर्न गिरोह नै सक्रिय रहेको पाइएको समाचार नेपाल लाइभले प्रकाशन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।