काठमाडौं- ‘नेपाल–बंगलादेश ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु भएको छ।
बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समूह’को पहिलो बैठक काठमाडौंको हयात होटलमा सोमबारबाट सुरु भएको हो।
बैठकको पहिलो दिन सोमबार सहसचिव स्तरीय ‘संयुक्त कार्य दल’को बैठकको नेतृत्व नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र बंगलादेशको तर्फबाट त्यहाँको विद्युत, उर्जा तथा खनिज स्रोत मन्त्रालयका सहसचिव शैख फैजुल अमिनले नेतृत्व गरेको समूहबीच छलफल भएको छ।
'बैठकमा अन्तरदेशीय प्रशारण लाईन, विद्युत व्यापारको मोडालिटी, जलविद्युतमा बंगलादेशको लगानी, माथिल्लो कर्णालीको विद्युत खरिद र नवीकरणीय उर्जामा सहकार्य गरेर ५ वटा मुख्य एजेन्डामा छलफल हुनेछ,' उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव घिमिरेले बताए।
बंगलादेशका विद्युत, उर्जा तथा खनिज स्रोत सहसचिव अमिनले बैठकमा नेपालको जलविद्युत क्षेत्रमा गर्ने लगानीका विषयमा विस्तुत छलफल हुनेछ,' बंगलादेशका विद्युत, उर्जा तथा खनिज स्रोत मन्त्रालयका सहसचिव शेख फैजुल अमिनले भने।
दुवै मुलुकबीच उर्जा व्यापार र लगानीको सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयनका लागि बैठक सुरु भएको हो। आजको बैठकले एजेन्डा तय गरेपछि भोली पुन दुवै देशको उर्जा सचिव स्तरीय बैठकबसी त्यसलाई मूर्तरुप दिने योजना रहेको छ।
गत भदौमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन बंगलादेश भ्रमणका गएको बेला दुई मुलुकबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने समझदारी गरिएको थियो। सोही समझदारीलाई अघि बढाउन दुई मुलुकबीचको उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको हो।
उर्जा संयन्त्रको बैठकमा बंगलादेशले नेपालको जलविद्युत र नेपालले बंगलादेशबाट खाना पकाउने ग्याँस खरिद गर्ने मोडालिटीका विषयमा पनि छलफल हुने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।