काठमाडौं- नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा सुरु हुने भएको छ।
बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। बैठक सोमबार र मङ्गलबार दुई दिनसम्म चल्नेछ। नेपाल–बङ्गलादेशबीचको ‘ संयुक्त कार्य समूह’को बैठक आयोजना गरिएको छ। बैठकमा सहभागी हुनका लागि बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज काठमाडौं आइपुगेका छन्।
नेपालकोतर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्नेछन्। सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक तय भएको छ। उक्त बैठकमा नेपालकोतर्फबाट सहसचिव दिनेश घिमिरे र बङ्गलादेशकोतर्फबाट ऊर्जा विभागका सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गर्नेछन्।
बैठकमा अन्तरदेशीय प्रसारण लाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनुका साथै विद्युत् व्यापारका बारेमा दुवैपक्षबीच छलफल हुनेछ। नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युत्मा बङ्गलादेशले लगानी गर्नेसम्बन्धी छलफल र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकाजुर्न राव (जिएमआर) बाट ५०० मेगावाट बिजुली बङ्गलादेशले खरीद गर्नेबारे बैठकमा छलफल हुनेछ।
ऊर्जामन्त्री वर्षमान पुनले गत भदौमा गर्नुभएको बङ्गलादेश भ्रमणमा दुवै देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो। मन्त्री पुनले त्यसका लागि छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए। बङ्गलादेशसँग ऊर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो। काठमाडौँमा भएको उक्त समझदारीमा बङ्गलादेशको तर्फबाट ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।