काठमाडौ– अर्थमन्त्री डा युवराज खतिवडाले पछिल्लो समय श्रम सम्बन्धमा सुधार आएकाले मुलुकको आर्थिक विकासका लागि मार्ग प्रशस्त भएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २१औं स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उनले सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको बताए। व्यापार घाटा बढ्नु मुलुकका लागि दुःखद रहेको भन्दै उनले निर्यात बढाउनेतर्फ पनि सरकार, उद्योगी तथा व्यवसायी केन्द्रित हुनुपर्ने बताए।
आर्थिक विकासका लागि केही समय आयात नबढाइकन सुखै नभएको भन्दै अर्थमन्त्री डा खतिवडाले भने– 'हामीलाई आर्थिक विकास पनि चाहिएको छ, लगानी पनि बढाउनुपरेको छ। त्यसका लागि आयात थप भए पनि हाम्रो सोच निर्यात बढाउनेतर्फ क्रियाशील हुनुपर्छ।'
सरकारले करको बोझ थप गरेको भनेर गरिएको प्रचारमा सत्यता नभएको भन्दै अर्थमन्त्री डा खतिवडाले लगानी सम्मेलन अगावै लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन, नियम तथा कानुन तयार पारिसक्ने बताए।
सरकारले आगामी जेठमा लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिँदै उनले विदेशी लगानी भित्र्याउनका लागि सरकारले आवश्यक कानुनी प्रबन्धसमेत गर्न लागेको उल्लेख गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।